तिरस्कार : लक्ष्मीप्रसाद पौडेल (लघुकथा)

तिरस्कार : लक्ष्मीप्रसाद पौडेल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,माघ २८  ।

बाटोको ठूलो खाल्टो जोगायो मोटरसाइकलले । सँगै साइकललाई तेर्छा आँखा फर्काउँदै ततेर्यो ।
‘अहिले छोएको भए जानेको थिएँ, कति दिनदेखि पेट दुखेर औषधि गर्न सकेको छैन ।’ बाटोको दुरावस्था भन्दा पनि मोटरसाइकलले जोगाएकोमा दुःखित देखिन्थ्यो, साइकल ।
थोरै अगाडि के बढेको थियो, शुभ साइतमा बिरालोले बाटो काटेझैं तीनपाङ्रेले झस्कायो, उसलाई । ऊ उसैगरी आँखा र मुख बिगार्न पुग्यो । एक लवज भद्दा फ्याक्यो हावामा, बाटो र तीनपाङ्रे दुवैलाई पुग्ने गरी । बाटो मालिक यस्ता आशीर्वचनबाट धन्य थियो सुन्ने कुरै भएन, तीनपाङ्रेको ध्वनि प्रदूषण सामुन्ने उसको रवाफ वाफ बनेर उड्यो । धन्न …., नत्र सानोतिनो निसाफ आवश्यक पर्ने हुन्थ्यो ।
दुई पाङ्ग्रा मज्जाले गुड्न पाएको थिएन, लामो लस्करले रोक्यो उसलाई । ट्राफिक प्रहरीहरू हात र रसीद ठेली हल्लाउँदै सिट्टी फुक्दै थिए । उसले खल्ती र टाउकोमा हात पुर्यायो । सबै दुरुस्त थियो, ढुक्क भयो ।
ब्लु बुक, लाइसेन्स खै ? “ ट्राफिक प्रहरीको इशारा सँगै उसले कागजात थमायो ।
कुनै कैफियत नभेटिएपछि प्रहरीले उसको टाउको तिर हेर्यो र भन्यो, ‘अबदेखि पछाडि बस्नेले पनि हेल्मेट लगाउनु पर्नेछ ।’ उसले पछाडि हेर्यो, पछाडि बस्नेको व्यबस्था भइसकेको थिएन, सम्झ्यो । तर पनि स्वीकृतीमा मुन्टो हल्लायो ।
‘यी खाल्टोहरू नपुरिनुको कारण…… ! हेलमेट व्यापार पो रहेछ !’ ठूलै रहस्य पत्ता लगाए झैं मुसुक्क मुस्कुरायो,
उसको मुस्कुराहट प्रहरीले के बुझ्यो होला ?
‘तिरस्कार ?’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।