समय : निर्मला बराल ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,माघ ७ ।
बैठकको ठूलो भित्ते घडीले समयसँगै टिक्टिक् गर्दै गति लिइरहेको थियो । सूर्योदयभएसँगै चराहरू चारो टिप्न हिडिसकेका थिए । झोलामाप्याकेटको दुधलिएर हजुरबा घर प्रवेश गर्नुभयो र सधैँ झैँ फतफताउनु भयो, ‘उठ न है, बाहिर उज्यालो भइसक्यो । स्कूल, अफिस जानेलाई कस्तो
नबितेको ?भान्सा तयार गर्नेलाई कस्तो नबितेको ?भित्तोमा यत्रो बडेमानको घडी छ, कसैलाई समयको ख्याल् छैन । यस्तोपनि हुन्छ काँही !’
हजुरबाको तीखो बोली छोरा, बुहारीको कानमा पर्यो । उनीहरु जर्याकजुरुक उठे । नातिनातिना पनि हतार हतार आँखा मिच्दै ओछ्यानबाट झरे र एकस्वरमा चिन्तित स्वरमा कराए,‘लामामु, आजपनि स्कुल ढिला भयो ! झन् हिजो भर्खर म्याम्ले समयमा स्कूलआउने गर्नुपर्छ भन्नु भाकोथ्यो, अब के गर्ने ?’
घडीमा नौ बजिसकेको थियो । धेरै अबेला भइसेको हुँदा, छोरा बुहारी के गरौं ?कसो गरौं ?गर्दैै हतार हतार खाना पकाउन तिर लागे । एकजनाले दाल बसाउने, एकजना तरकारी काट्नेतिर लागे । बल्ल खाना तयार भयो । तर सबैले खाना खाएर, टिफिन, पानी तयार गरी पोशाक फेर्दा साढे दस बजिसकेको थियो । त्यस्तो अबेला कहिले नभएको हुँदा, सबैलाई हतारो त छँदै थियो । उदास मुद्रामानातिनातिनाले हजुरबालाई ‘बाइबाइ’ गरे । विरक्तअनुहार लिएर छोरा बुहारी पनिअफिस लाग्नलागे ।
हाँस्न खोज्दाखोज्दै पनि हाँसोलाई नियन्त्रण गरेर उनीहरुलाई रोक्दै हजुरबुबाले तिखो स्वरमाभन्नु भयो, ‘हेर मेरा नातिना, चिन्तानगरी तिमेरु फटाफट् स्कूल जाओ, आज चाहिँ मैले घडी एक घण्टा चलाख नगर्देको भए, तिमेरु सबैलाई साँच्चिकै अबेला हुन्थ्यो ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक