हामी गरिब भाको : कविता दाहाल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ ७ ।
मैले सयको नोट भुईमा फुत्त फाल्दै झर्केर भने,
‘अतिभो बा ! अझै सय कमि छ
दुई दिन भैसक्यो, भोलि पूरा दिन्छु भन्दै
मलाइ ट्यूशन पठाको ?
हामीलाई मात्र किन अभाव हुन्छ बा !
पल्ला घरे काकाले जस्तो
तपाईले पैसा किन नकमाको ?
हेर्नुहोस् त ! अरु पनि धनि छन् यहाँ
तपाईंले गर्दा हो हामी गरिब भाको ।’
मलाई कुनै उत्तर नदिई बाले एक तमासले हेर्नुभयो,
त्यसपछि
आफ्ना रसिलाआँखा ढल्पलाउँदै
लामो सास फेर्नुभयो ।
खै कसरी हो ! यो क्षण मेरो अन्तस्करणमा छापियो
आजमलाई पुराना हिसाब गर्न मन लाग्यो,
बालाई हो या आफैंलाई
एउटा निसाफ गर्न मन लाग्यो ।
दिनभरि एक्लै बसेर
बाले नदिएका चिजहरु सम्झनथालेंं,
मेरो याददास त्यति कम्जोर थिएन
तैपनि केही सम्झन सकिन ।
अनि
बाले दिएका चिजहरू सम्झन थालें
तिनका गन्तीहरु यति भएकि कुनै बिर्सन सकिन ।
कति रहेछन् कति
मैले बाको कर्जा खाको
यहीमुखले कसरी भन्न सकें
बा !
तपाईले गर्दा हो हामी गरिब भाको ?
मेरा बाको कपडामा
आजपनि मेहनतको बास्ना आइरहन्छ ।
उनले एकजोर कमिजमा छ ऋतु काटेका छन्
मलाइ नयाँ किनिदिँदा
आफूलाई पुरानै कपडा टालेका छन् ।
मलाई अहिले पनि याद छ कि
बा घाम पानी नभनिकाम गर्न गाको
जस्को जीन्दगी भरिको कमाई भनेकै मै थिएँ
मैले कति सजिलै भन्दिएँ,
‘बा !
तपाईले गर्दा हो हामी गरिब भाको ।’
निर्जीव मूर्तिको लागिभव्य दरबार बन्दछ,
गरिब, निमुखा, माग्ने पेटिमा बास भन्दछ,
अमूल्यगहना बस्त्र मूर्तिले लाउने तर–
गरिब दुखिया कन्था फाटेको प्वाल गन्दछ,
नैवेद्य मूर्तिका लागि अनेकौं थरि छन् तर,
गरिब भोकले गर्दा मर्नलाई छ तत्पर,
दुग्धधारा दिँदै मूर्ति पुज्दै घुम्छन् वरीपरी–
अश्रुधारा बगाएको दुखिया रुन्छ धर्धर
कस्तो अचम्मको हाम्रो व्यवस्था धर्मको भयो,
मान्छे मारेर मान्छेले ढुङ्गा नै पुज्ने भयो,
मूर्तिलाई खुशी पार्न जे पनि गर्न तत्पर–
परोपकार पुण्याय अब हेर कता गयो ।
पुसको ठण्डिले काम्दै बसेका दुखिया जन,
देउखान लुगालत्ता गराई खुकुलो मन,
यही नै हो महादान नगरे हुन्छ क्यै अरू–
मान्छे सज्जन बन्ने हो गर्दै सत्कर्म पालन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक