पौष मैन्हा आयो : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,पुस ९ ।
भाका फेर्यो समयले, पौष मैन्हा आयो
चिसो चिसो सिरेटोले, नौलो गीत गायो
नौलो गीत गायो, हिमालको सुसेलीले
व्यथा नौलो पाए फेरि चिसा परेलीले
वरपर हुस्सु छायो, नहेरेर कतै आँखा
असजिलो हुने भयो, भुल्दा समयको भाका ।
बेशी सारे गोठ किन ? लेकबाट सबै बुझ
किन छोट्टिए होलान् दिन ?हो नि कस्तो सुझबुझ ?
हो नि ! कस्तो सुझबुझ ? हिमालले मान पायो
पुरानो बख्खुले नि ! राम्रो सम्मान पायो
हिउँ फुल्यो चुचुरामा, पहाडको झ¥यो शेखी
लेकतिर किन जाने ? पारिला छन् तल बेशी ।
थर्थर् काप्दै रहन्छौँ, पौष आए पछि किन ?
थोपा शीत झरेको छ, गरिबको सातो लिन
गरिबको सातो लिन, यो हेमन्तको यात्रा
हकहित कता पुग्यो, निमुखाको भयो जात्रा
कति दिन चल्ने हो र ? सडकमा आगो ताप्दै
सहयोग खोज्दै छन्, बसेका थर्थर् काप्दै ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।