आँसु : राम आचार्य ‘पुष्पप्रेमी’ (कविता )
कपन अनलाइन
काठमाण्डौ ,पुस २।
आँसु पनि पानी नै त हो,
तर पानीले किन
आँसुको भाव बुझ्दैन ?
पानी पिउँदा हुन्छ
आँसु पिउनु किन हुँदैन,
पानी बर्षे झरीसँग
जरुवा बनेर उम्रिन्छ
उ गतिशील भएर बग्छ,
घोल र समिश्रण अनुसार
रंग र संवाद फेरिन्छ,
प्रयोग अनुसार स्वभावमा
परिवर्तन हुन्छ,
हिमाल पग्ले पछि
पानी बन्छ !
तर आँसु आँखामा जमेर
कहिल्यै हिउँ बन्दैन ।
आँसु स्थिर छ,
पीडासँगै
जन्मिन्छ ऊ ,
न दुःखमा झर्दा होस,
न त शुखमा पोखिंदा होस
एउटै रंग
उस्तै स्वभाव छ आँसुमा,
आकाश रोए पानी झर्छ
मन रोए आँसु बग्छ
आँसु भाव अभिब्यक्तिको
प्रतिबिम्ब हो
तर
पानी प्राकृतिक भावको
बिम्ब होईन,
त्यसैले त पानी पिउँदा हुन्छ,
तर आँसु पिउनु हुँदैन !
आफ्नो पीडाकोे
गहिराईमा मात्र होइन
अरुको दुखाईमा पनि
पोखिनु पर्छ आँसु,
अरुको शुखमा
सुक्नु पर्छ आँसु !
आँखामा कहिल्यै
खडेरी पर्दैन
संचित गरेर राख्नु पनि पर्दैन,
पानी पर्न वर्षा याम पर्खे
जस्तो पर्खिनु पर्दैन
आफै झर्छ आँसु !
कहिले दुःखको वेदना बनेर
कहिले खुशीको छाल भएर !
खुशीमा आँसु जम्नु हुँदैन
पीडामा आँसु सुक्नु हुँदैन,
बरु बगाउनु पर्छ
पीडालाई ,
अन्तरमनको अदृष्य
घाउ पखाल्ने
त्यो अद्भुत झोल
तिम्रो आँखा भरी लुक्नु पर्छ,
मेरो आँखा भित्र पनि बस्नु पर्छ
तर पनि
हरदम् झर्नु हुन्न आँसु
पिउनु हुन्न आँसु !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक