सुकीर्ति : गङ्गा आचार्य सापकोटा (कविता )

सुकीर्ति : गङ्गा आचार्य सापकोटा (कविता )

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २४।

भावमा अभावमा गरेर धीरता सधैँ
दिव्यशक्ति भित्रको सदाजसो जगाउँदै
हिँड्नुपर्छ विघ्नका जरा सबै हटाउँदै
बाँच्नुपर्छ जिन्दगी मुसुक्क मुस्कुराउँदै ।।१।।

भित्र आत्ममा भयो अपार चाहना भने
मिल्छ सिद्धि आखिरी मनुष्यका प्रयासले
लक्ष्यका अडानमा अगाडि बढ्नुपर्दछ
कर्म साधना गरी सुकीर्ति राख्नुपर्दछ ।।२।।

फूलवागमा फुली सुवास छर्छ जस्तरी
सिन्धु भेट्न गण्डकी सदैव बग्छ जस्तरी
तेज दिन्छ भानुले अकासबाट जस्तरी
मानवीयधर्म होस् मनुष्यभित्र उस्तरी ।।३।।

ज्ञानले विवेकले मनुष्य बन्दछन् गुणी
चित्तभित्रका सबै हटेर भावआसुरी
सत्यमार्गमा सदा सबैजना हिँड्यौँ भने
चम्किने छ जिन्दगी सुकर्मका प्रभावले ।।४।।

सभ्यता सिक्यौँ भने अवश्य सौम्य बन्दछौँ
लम्किँदै सुमार्गमा सुकर्म गर्न थाल्दछौँ
कीर्ति भन्नु रैछ यो सुकर्मकै उपार्जन
रैछ आखिरी यही मनुष्यको ठुलो धन ।।५।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।