आज छठ पर्व मनाइँदै
कपन अनलाइन
काठमाडौं कात्तिक १३ । आज छठ पर्वको मुख्य दिन, सूर्यको आरधना, उपासना र पूजा गरी मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ ।
छठको अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।आज साँझको अस्ताउदो सूर्यलाई अर्घ दिएर भोलि बिहानको उदाउदो सूर्यको दर्शन गर्ने गरिन्छ ।
रातभर नदी, वा कुनै पोखरीको छेउमा रातभर जाग्राम बसेर छठ्ठी माताको उपासना गरिन्छ ।सप्तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व सम्पन्न हुने परम्परा छ । छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास छ ।
छठ पर्वको व्रतलाई कठिन व्रतको रुपमा पनि लिइन्छ ।छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी छठी माईको पूजा गरिन्छ । देवी भागवत्मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ ।
फाइल फोटो