शान्ति, लोकतन्त्र र समृद्धितर्फको यात्रा नै एमालेको अडान
प्रकाश सिलवाल/काठमाडौँ, २६ जेठ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शान्ति, राष्ट्रिय एकता, लोकतन्त्र र समृद्धितर्फको यात्रा नै आफ्नो दलको अडान भएको बताउनुभएको छ ।
सोह्रबुँदे सहमतिपछि आज पार्टी कार्यालय बल्खुमा आयोजित पत्रकार सम्मेलनमा संविधान निर्माणका सन्दर्भमा चार दलबीच सहमति गर्दा एमालेले आफ्नो छाडेको भन्ने टिप्पणीको जवाफ दिँदै उहाँले सोमबार राति भएको सहमतिले त्यो यात्रामा कुनै बाधा नगर्ने स्पष्ट गर्नुभयो ।
“चार दलबीच गए राति आठ प्रदेशसहित संविधान बनाउने महत्वपूर्ण सहमति हुँदा सत्तारोहणका लागि एमालेले आफ्नो पाँच वा छ प्रदेशसम्मको प्रदेशमा जाने अडान छाडेको टिप्पणी आएको थियो, संविधान बनाउन एमाले लचिलो भएकाले प्रदेशको सङ्ख्याभन्दा यसप्रतिको दृष्टिकोण र सारतत्वका सन्दर्भमा ध्यान दिँदै हामीले सहमतिले गरेका हौँ”, सहमतिपछि आज पार्टी कार्यालय बल्खुमा आयोजित कार्यक्रममा पत्रकारमाझ पहिलो औपचारिक प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “एमालेका निम्ति सरकारमा सहभागिता वा नेतृत्व महत्वका विषय होइनन्, हाम्रा लागि लोकतान्त्रिक संविधान बन्नु र मुलुकको पुनःनिर्माण हुनु प्राथमिकताका विषय हुन्, एमालेको देशभक्ति, परिवर्तन, लोकतन्त्र र समृद्धिप्रति यसको निष्ठा यो सहमतिले पनि प्रकट गरेको छ, प्रदेशका कुनै अङ्क अशुभ छैनन्, सबै अङ्क शुभ छन् ।”
नेपालको राजनीतिक इतिहासमा सोमबारको सहमतिले पटक पटक जनताका सङ्घर्ष, सम्झौता र उपलब्धिको रक्षा गर्ने सन्दर्भमा देखिएको अन्योललाई चिर्दै गणतन्त्र स्थापना र राजतन्त्र अन्त्यपछिको अवस्थामा तथा पहिलो संविधानसभा असफल भई दोस्रो संविधानसभा पनि असहज बनिरहेका बेला नयाँ सञ्चार गरेको अध्यक्ष ओलीले बताउनुभयो ।
उहाँले अब संविधान निर्माणका विवाद टुङ्गिएकाले लगातार (दु्रत गति) मा काम भई सकेसम्म छिट्टै संविधान निर्माणको काम पूरा हुने विश्वास १६ बुँदे सहमतिले दिएको र प्राकृतिक विपत्ति आएको स्थितिमा सहमति र सहकार्यसँगैै संवैधानिक, एकताबद्ध र सफलताका साथ मुलुक पुनःनिर्माणका काम अघि बढ्ने बताउनुभयो ।
भूकम्पपछि राहत, पुनःस्थापना तथा पुनःनिर्माणका लागि एमालेद्वारा सञ्चालित राष्ट्रिय स्वयम्सेवक परिचालन अभियानको १७औँ दिन पुगेको सन्दर्भमा नेता ओलीले भन्नुभयो – “एमाले घाम ताप्न गएको होइन, काम गर्न र जनताको मनमा शीतलता प्रदान गर्न गएको हो, स्वयम्सेवाको काम असाधारण रुपमा सफल भएको छ ।”
तीन दिन अनिवार्य श्रमदान
अभियानअन्तर्गत आगामी असार ४ देखि ६ गतेसम्म तीन दिन २५ जिल्लाका ७६ निर्वाचन क्षेत्रमा सबै पार्टी सदस्यले आफ्ना क्षेत्रमा अनिवार्य श्रम गर्ने निर्णय परिचालन समितिको आज सम्पन्न सचिवालय बैठकले गरेको छ ।
यस्तै यही जेठ ३१ गते ऐतिहासिक धार्मिक तथा पुरातात्विक महत्वका सम्पदाको सरसफाइ गरिने र सरकारले चाँडै ऐतिहासिक सम्पदा पर्यटकका लागि खुला गर्ने सन्दर्भमा स्वयम्सेवक सबै त्यस्ता सम्पदाको सरसफाइ अभियानमा केन्द्रित हुनेछन् । आउँदो असार १ गते भूकम्पपीडित राहत तथा उद्धार समन्वय समितिले व्यवस्थित बस्ती विकासको दीर्घकालीन अवधारणा र आधारपत्र निर्माण गर्न पार्टी नेतृत्व र विज्ञसहितको छलफल र अन्तक्र्रिया गरी विपद् व्यवस्थापनको अधिकारसम्पन्न संयन्त्र र नीतिगत सुझाव प्रस्तुत गर्ने तयारी गरेको छ ।
असार ८ गते कञ्चनजङ्घा पदमार्गअन्तर्गत ताप्लेजुङ, सगरमाथा आरोहणको प्रवेशद्वार सोलुखुम्बुको लुक्ला, खोटाङको हलेसी, अन्नपूर्ण पदमार्गअन्तर्गत पोखरा र जोमसोम, चितवनको सौराहा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, जनकपुर, पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, प्युठानको स्वर्गद्वारी, बर्दियाको ठाकुरद्वारा, मुगुको रारा र सुदूरपश्चिमको खप्तड क्षेत्रलाई केन्द्रित गरी ‘हाम्रो सम्पदा ः हाम्रो पहिचान; विदेशी पाहुनालाई गर्छौं सम्मान !’ भन्ने आह्वानका साथ स्वयम्सेवकले विशेष पर्यटन प्रवद्र्धनको अभियान सञ्चालन गर्ने निर्णय पनि भएको अभियानका संयोजक तथा सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो ।
एक लाख कार्यकर्ता परिचालन
अभियानका केन्द्रीय प्रचार समितिका संयोजक तथा पार्टी सचिव योगेश भट्टराईका अनुसार यसबीचमा करिब एक लाख कार्यकर्ता परिचालन भएको र प्रत्येक समय १६ टोलीले सबै स्थानमा गरी २८ हजार कार्यकर्ता थलोमा खटिएका छन् । ती टोलीले दैनिक आठ घन्टा काम गरेका छन् ।
यस बीचमा एक स्वयम्सेवकको मृत्यु भएको छ भने ३६ कार्यकर्ता घाइते भएका छन् । घाइतेको उपचारको जिम्मा पार्टीले लिएको छ । अभियानका लागि तोकिएको पोसाकसहित नियमित काम गर्ने १० हजारस्वयम्सेवक खटाइएको छ । प्रचण्ड गर्मी र भौगोलिक विकटतालाई छिचोल्दै स्वयम्सेवक खटिरहेको एमालेले जनाएको छ । यसबीचमा १५ हजार २१० नयाँ अस्थायी घर तथा ५१४ शिक्षालय पुनःनिर्माण भएका छन् ।
‘गाउँ गाउँबाट उठ…’ बोलको श्याम तमोटको गीतलाई अभियानको गीत बनाउँदै एमालेले यही जेठ १० गतेदेखि एकमहिने राष्ट्रिय स्वयम्सेवक परिचालन अभियान सञ्चालन गरेको हो ।
अभियानले जनता र राजनीतिक दलबीचको सम्बन्धलाई घनिष्ठ रुपमा पुनःस्थापित गरेको, स्वयम्सेवकले भत्केका स्कुल र घर बनाउनाका साथै नेपालको लोकतान्त्रिक परम्परा र अभ्यासलाई समाज र गाउँबस्तीमा दह्रो गरी स्थापित गर्ने काम गरेको एमालेको ठहर छ । सँगै बस्ने, सँगै खाने र समान रुपले श्रम गर्ने स्वयम्सेवकको दैनिक कार्यतालिकाले नयाँ स्वरुपको सामूहिकताको दृष्टान्त प्रस्तुत गरेको र यसले एक प्रकारको समाजवादी जीवनशैलीको झझल्कोसमेत दिएको परिचालन कमिटीले जनाएको छ ।