खोलाको विलौना : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,साउन २८।
म आफ्नै बाटोमा, जतनसित हिँड्थेँ हर पला
सबै भन्थे कस्तो कल कल कला ? सुन्दर गला
थियो राम्रै राम्रो, गत विगतमा मख्ख म थिएँ
हरायो त्यै बाटो, अब त कसरी बाँच्नु ? म गएँ ।१।
थुनी सारा बाटो, पर पर सरोस् भन्छ उसले ?
व्यथाले यो छाती चर चर दुख्यो, बुझ्छ कसले ?
लुटी मेरो बाटो सडक यसरी बन्दछ भने
भए मान्छे छाडा, कति प्रकृतिले मात्र सहने ?।२।
म थाकेँ हारेँ भो, बहुत जनको आक्रमणले
मलाई हेर्दै छन्, वरपर बसी क्लान्त मनले
कता जाने होला, छटपट गरी डुल्दछु यहाँ
हराएको आफ्नै पथ म वटुवा, हाँस्छ दुनियाँ ।३।
कहाँ कुद्ने मैले ? कलकल गरी आखिर प¥यो
कहाँ खुल्ने मैले ? झलमल गरी सङ्कट झ¥यो
कहाँ पुग्ने मैले छलछल गरी ? सागर कता ?
मरेँ बाँच्ने आशा अब त सकियो, भन्दछु म ता ।४।
म हाँस्दै बाँच्ने हो भन न कसरी ? च्यापिइसके
कहाँ कुद्ने कालो रङ छ कहिले आत्तिइसकेँ
बनी सोझो हिँड्दा म त परिसकेँ फोहर मुनी
कतै निस्कौँ जिस्कौँ पिलपिल गरी मानिस रुने ।५।
चलून् ठूला ठूला छलफल खुली भन्न मन थ्यो
भयो मेरो गल्ती कति कति बसी सुन्न मन थ्यो
व्यहोरा मान्छेको प्रकृति प्रति यस्तो किन भयो ?
तँ एक्लो छैनस् है विकल टुकुचा, जीवन गयो ।६।
नपाए हुन्थ्यो यो दुखित रसको जीवन पनि
भनेका छन् व्यर्थै, जल अति महान् पावन भनी
बढेको हो मान्छेकन जमिन लुट्ने कति नशा ?
मिले हेर्नोस् आई कपनतिर मेरो ग्रहदशा ? ।७।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक