‘संविधानपछि मात्र सहमतीय सरकार’
जेठ १६, काठमाडौँ । प्रमुख दलहरू राष्ट्रिय सहमतिको सरकार निर्माणको पहलबाट हटेर एकाएक संविधान निर्माणमा केन्द्रित हुनुपर्ने निष्कर्षमा पुगेका छन्। शीर्ष नेताहरूबीच शुक्रबार विभिन्न चरणमा भएका छलफलपछि सरकार निर्माणभन्दा संविधान निर्माणलाई प्राथमिकतामा राख्न सहमत भएका हुन्। त्यसैकारण संविधानका नमिलेका विषयमा दलहरूले प्राथमिकताका साथ जेठ १७ सम्ममा सहमति खोज्ने प्रयास गर्दै छन्।
अन्तरिम संविधानका नयाँ संविधान निर्माणसम्बन्धी प्रावधान निलम्बन गरेर भए पनि संविधान निर्माण र त्यसको एक महिनापछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने नयाँ मोडल एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अघि सारेका थिए।तर, दलहरूबीचको पछिल्लो सहमतिले सरकार निर्माणलाई अहिलेको सहमति प्रक्रियामा मिलाउनासाथ संविधानको काम ओझेलमा पर्ने महसुस उनीहरूलाई भएको हो। ‘संविधानलाई थाती राखेर कसलाई सरकारमा ल्याउने वा नल्याउने भन्ने विषयले अलमल हुने देखियो’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नागरिकसँग भने, ‘हामीबीच संविधानलाई प्राथमिकता दिऔं भन्ने सहमति भएको छ।’
शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले समेत संविधानका सहमति भइसकेका विषयलाई मस्यौदा समितिमा पठाउने र नमिलेका विषयमा सहमति खोज्दै जाने निर्णय गरेको थियो। बैठकले सरकारका बारेमा अहिल्यै छलफल नचलाउने निर्णय गरेपछि एमाले नेता माधवकुमार नेपालसँग समेत पौडेलले भेट गरेका थिए। ‘माधवजी र मैले ६ देखि ८ प्रदेश बनाएर जान र नमिलेका विषयमा छलफल गर्दै जाऔं भन्ने छलफल गर्यो,’ पौडेलले भने, ‘प्रधानमन्त्री सुशील कोइरालाले चार दलका शीर्ष नेताको बैठकमा यही प्रस्ताव राख्ने सहमति पनि हामीबीच भएको हो।’
कांग्रेस र एमालेबीच मात्र होइन एमाओवादी र एमाले नेताहरूबीच पनि शुक्रबार छलफल भई संविधानलाई नै प्राथमिकतामा राख्ने सहमति गरेका थिए। एमाले अध्यक्ष शर्मा र नेता नेपाल तथा एमाओवादी अध्यक्ष दाहाल र बाबुराम भट्टराईबीच भएको बैठकमा पनि यस्तो सहमति भएको थियो। उक्त बैठकमा जानुअघि भट्टराईले राष्ट्रिय सहमतिको सरकार आवश्यक भएकोमा जोड गरेका थिए। ‘संविधान निर्माण तथा विपद व्यवस्थापनका लागि दुईटा विषय अनिवार्य बनेका छन्,’ उनले ललितपुरको एउटा होटलमा शुक्रबार आयोजित एउटा बैठकमा भनेका थिए, ‘पहिलो राष्ट्रिय सहमतिको सरकार र राष्ट्रिय पुननिर्माण प्राधिकरण अविलम्ब बन्नु पर्नेछ।’
कोटेश्वरका एक व्यापारीको घरमा दाहाल र ओलीको भेट अलग्गै भेटसमेत भएको थियो। फेरि अपरान्ह एमाले नेताहरूसँगको भेटपछि संविधान नबनाई सरकारको विषय अघि नसार्ने गरी एमाओवादी नेताहरूको पनि बोली फेरिएको थियो। कांग्रेस पदाधिकारी बैठक तथा एमालेसँगको सामुहिक भेटपछि बालुवाटार पुगेका दाहालले पनि यसअघि राख्दै आएको धारणा विपरीत सरकारभन्दा संविधानमा नै जोड दिएका थिए।
तपाइँको प्रतिक्रिया ।