गङ्गाका रमाइला निबन्धहरू : प्रा.कपिल अज्ञात ( कृति समिक्षा )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १४ ।
नेपालीका अधिकांश साहित्यकारले कविताबाट आफ्नो साहित्यिक यात्रा सुरु गरेका छन् र पछिपछि विभिन्न विधाहरूमा आफ्नो पहिचान बनाएका छन् । एक विधाबाट अनेक विधामा फैलन सक्नु शुभ लक्षण हो । त्यो साहित्यकार हुनुको गौरव पनि हो । आफ्नो सिर्जन सामथ्र्यको शक्ति र सीमा बुझेर कोही निबन्धकार, कोही पत्रकार, कोही समालोचक त कोही नाटककार पनि बन्न पुगेका छन् । प्रारम्भिक अभ्यासका निम्ति निकै अनुकूल विधा रहेछ – कविता ।
पछि अन्य विधाहरूमा फैलन पनि सघाउ पुग्ने रहेछ । यो अन्यका तुलनामा सरल र सहज पनि उस्तै, गहन र जटिल पनि उस्तै । लयमा शब्दहरू बिछ्यायो कविता भयो तर त्यो सामान्य स्थिति भयो । शब्दमैं प्राण फुक्नपर्यो भने फेरि त्यो उत्तिकै गहन र जटिल पनि भयो । जे होस्, कवितामा हासिल गरेको सीपले हर कुनै विधा लेखनलाई पनि सहयोग पुर्याउन सक्ने रहेछ । हर कुनै विधा आफ्नो विधागत स्वरूपमा रह्यो र त्यसमा कवित्वले प्रवेश पायो भने त्यो विधा चमत्कृत पनि बन्दो रहेछ ।
यतिबेला मसँग गङ्गा कर्माचार्यबाट स्नेह स्वरूप प्राप्त सुरभि साहित्य प्रतिष्ठान, काठमाडौँद्वारा प्रकाशित आधी घण्टा (नियात्रा सङ्ग्रह, २०७६) हातमा छ ।
यसमा स्वदेश भित्रकै अठारवटा यात्रा संस्मरणहरू समेटिएका छन् । समय सूचकको रूपमा रहेको ‘आधा घण्टा’ यसै कृति भित्रको एक संस्मरण निबन्ध पनि हो । सेवा र सहयोगको भावनाले गन्तव्य सम्म पुगेर विभिन्न पक्षलाई समेट्ने समेत काम गरिएको छ । दुई–तीन घण्टा भन्दा बढी लाग्ने बाटोलाई आधा घण्टा भनेर राम्ररी अड्कल गर्न नसकेको समयप्रति त्यति सचेत हुन नसकेको वा सहानुभूतिपूर्वक धैर्य र ढाडस बढाउन लागतको समय भन्दा कम समय भनेको आदि विभिन्न स्थितिप्रति सङ्केत गरिएको छ ।
घुम्न–फिर्न भनेपछि लेखिकालाई निकै रहर लाग्ने गरेको छ । शारीरिक रूपले आफु आममानिसहरू झैँ सबल नरहे पनि उनमा नयाँ ठाउँ हेर्ने, बुझ्ने र त्यसबाट प्रेरित भई केही सिर्जना समेत गर्ने उत्सुकता छ । सिर्जनशील आकाङ्क्षाले पनि नवीन स्थान र परिवेशतर्फ उत्प्रेरित गराइरहेको देखिन्छ तर उनी समयको सदुपयोग गर्दै रचनात्मक कार्यतर्फ अनवरत प्रवृत्त भइरहेकी देखिन्छन् ।
गङ्गा यथार्थमा साहित्यकै गङ्गा बनेकी छन् । साहित्यिक भावनाको वर्षा पाएपछि झरना, नदीनालाहुँदै सागरको खोजीमा गङ्गा बन्नपुगेको लामै इतिहास छ । जीवनमाआफ्नो पहिचानको इतिहास बनाउन सक्नु ठूलो पुरुषार्थ हो । साहित्यका विभिन्न विधाका तीनदर्जनभन्दा बढी कृतिले बहुमुखी प्रतिभा भएको साबित गर्छन् । कविता, कथा, मुक्तक, गजल, निबन्ध, समीक्षा, नियात्रा तथा विभिन्न उमेर, अवस्थाका निम्ति सिर्जित बालसाहित्यका अनेक कृतिहरूले साहित्यमा ठूलो लगाव र साधना दर्शाइरहेका छन् ।
विभिन्न उद्देश्य र प्रयोजनमा विभिन्न समयमा रचित जम्माजम्मी अठारवटा नियात्राहरू सङ्गृहीत गरिएको यस कृतिका नियात्राहरू कुनै तीर्थयात्रा सित, कुनै समाजसेवावा मानवसेवा सित, कुनै साहित्यिक यात्रा सित त कुनै बाल साहित्यिक यात्रासित सम्बन्धित छन् । यी सबैमा आत्मपरकता र अनुभूतिको राम्रो समन्वय भएको देखिन्छ । अध्ययनको पृष्ठभूमिबाट एवं विचार र चिन्तनको उत्प्रेरणाबाट लेखिएकाले समस्त नियात्राहरूमा ज्ञान बर्धक, सूचनात्मकताको पनि राम्ररी सन्निवेश भएको पाइन्छ ।
अभिव्यक्तिका दृष्टिले भाषा सरल, सहज र सम्प्रेष्य छ र परिष्कृत पनि छ । शब्द–संयोजन र वाक्य–गठनमा पनि राम्रो प्रस्तुति देखिन्छ । मनमाउत्साह र उल्लास भनेर सद्भाव र सदाशय राखी सङ्कल्पपूर्वक गरिएको यात्रा अवश्य पनि फलदायी रहन्छ भन्ने सन्देश सबै नियात्राहरूले दिएका छन् ।
वर्णन भए पनि त्यसलाई सरल र प्रवाहमय तुल्याउन सक्नु विवरण भए पनि त्यसलाई सुरम्यमयी सूचनाहरूले सिँगार्न सक्नु नियात्राकार गङ्गाका विशेषता देखिन्छन् ।
नियात्रामा प्रतिपाद्य विषयअधिक दृश्यगत सूचना हुने गर्छ । तिनलाई पनि सङ्केतमा नउनेर राम्ररी फिँजाई स्पष्ट्याउने गरेको देखिन्छ । यस दृष्टिले नियात्राहरू नैबन्धिक प्रतिवेदन जस्ता पनि बनेका देखिन्छन् । जे होस् कथ्यको स्पष्टता र गन्तव्यको प्रवाहशीलताले रुचिकर र प्रियकर विषय बन्न पुगेका छन् । भूमिकाकार रमेश शुभेच्छुकका दृष्टिमा गङ्गाका नियात्राहरू बहुचेतनायुक्त छन् ।
तिनमा कतै सांस्कृतिक चेतना, कतै पर्यावरणीय चेतना, कतै ऐतिहासिक चेतना, कतै राष्ट्रिय चेतना, कतै अग्रगामी चेतनामा केन्द्रित छन् । ती सबै चेतनालाई नैबन्धिक शैली, सीपद्वारा गुम्फन गरिएको पाइन्छ । समग्रमा गङ्गाका नियात्रा सिर्जनको प्रमुख उपलब्धि र विशेषता भन्नु सकारात्मक सोच र उत्साह, उल्लासमयी, जिज्ञासु स्वभावलाई सक्रिय तुल्याउनु रहेको छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक