पाँच अक्षर : हेम पोखरेल ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,माघ ८।
बाले छोरालाई एउटा पोको देखाउँदै भन्नुभयो ‘यो कसैलाई नदेखाउनु ।’
बाले नदेखाउनु भनेपछि केटालाई खसखस लाग्यो । स्कुल लिएर गयो र सरलाई देखायो । पहिले नेपाली सरलाई देखायो र सोध्यो, ‘यो के हो सर ?’
सरले भन्नुभयो, ‘यो तीन अक्षरको शब्द र दुई अक्षरको शब्द मिलेर बनेको एउटा पूर्ण वाक्य हो ।’
केटालाई चित्त बुझेन म्याथको सरलाई देखायो र सोध्यो, ‘यो केहो सर ?’
म्याथ सरले भन्नुभयो, ‘यो समिकरण हो । यसमा गणितका धेरै फर्मुलाहरु लागेका हुन्छन् । यता बराबर उता हुन्छ । यताको प्लस उता जाँदा माइनस भएर जान्छ । माइनस माइनस प्लस हुन्छ । माइनस प्लस माइनस नै हुन्छ ।’
म्याथ सरका कुराले केटो झन अलमलियो र फेरि साइन्स सरलाई सोध्यो, ‘सर यो केहो ?’
साइन्स सरले भन्नुभयो, ‘विज्ञानले दिएको उपहार नै यही हो । यो इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन हो ।’
केटालाई अझै चित्त बुझेन भूगोल सरलाई देखाउँदै सोध्यो, ‘यो केहो सर ?’
भूगोल सरले भन्नुभयो, ‘यही हो पृथ्वी । यसमा देखिएका चारवटा अक्षरहरु यो पूर्व हो, यो पश्चिम हो, यो उतर हो, यो दक्षिण हो र बाँकी रहेको एउटा अक्षर पृथ्वीको मध्यभागमा रहेको भूमध्य रेखा हो ।’
यी सबै उत्तर हरु केटालाई चित्त बुझेन बाहिर निस्केपछि समाजले बुद्धिजीवी भन्नेगरेका एकजना मान्छेलाई भेट्यो र सोध्यो, ‘यो के हो ?’
उनले भने, ‘केटा ! तिमीले यो देखाइ हाल्यौ, नदेखाएको भए हुन्थ्यो । अहिलेको समाजले यही कुरा खोजीरहेको हुन्छ । अहिलेको समाजले, अहिलेको राजनीतिले, अहिलेको सत्ताले र हरेक उच्चस्तरीयहरुले गरिखाने भाँडो बानाएको महत्वपूर्ण साधन नै यही हो ।’
केटालाई यी कुनै पनि उत्तरहरुले चित्त बुझेन । घर आयो । उसका बा पनि बेलुका घर आए ।
उसले बालाई सोध्यो, ‘बा ! यो के हो ?’
बाले फेरि भन्नुभयो, ‘यो देखेपछि सबैले आफूसँग जस्तो ज्ञान छ त्यही भन्छन् । त्यसैले यो कहिल्यै कसैलाई देखाउनु नहुने “दुःखको आँसु” हो ।’