घेराबन्दी : अनु विज्ञाति (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,पौष १४ ।
‘भ्रष्टाचारीलाई किरा परोस् ।’ वडामा आउने सेवाग्राही तथा त्यो वडाका धेरै बासिन्दाले त्यही लेखेको गञ्जी लगाएर वडा कार्यालयमा आउँथे । वरपरका सार्वजनिक ठाँउमा समेत उनीहरू त्यही लुगामा भेटिन्थे ।
मेरो सेवा प्रवेशपछिको पहिलो पदस्थापन त्यही वडामा भयो ।
म वडासचिव भएर गएकोमा उनीहरूलाई केही असहज भएको बुझें ।
‘महिला वडा सचिव भएपछि अब हामीले कसरी काम गर्ने ?’ खासखुस कुराहरू सुन्थें ।
म भने ढुक्क थिएँ, ‘यो वडाका सबै मानिस भ्रष्टाचार विरोधी
रहेछन् । कानुनबमोजिम बाहेकको काम गर्न पक्कै दबाब दिँदैनन् । यति भयो भने त, काम गर्न के को अफ्ठ्यारो ?’
केही दिनदेखि मेरो टेबलमा एउटा बिल आएको थियो । त्यसको भुक्तानीका लागि मैले सहमति दिनुपर्ने थियो । बिलमा निक्कै जोर लुगा, खाना, खाजा र मादक पदार्थको मूल्य उल्लेख थियो ।
मैले त्यो बिलको भुक्तानी गर्न नमिल्ने कुरा जानकारी गराएको दुई दिनपछि उही लुगा लगाएका एक हूल मानिस आए र मलाई घेरे ।
म छक्क परेँ ।
‘आखिर मैले के गरेँ र ? तपाईंहरू यसरी घेराबन्दीमा पार्नुहुन्छ मलाई ?’ मैले सोधें ।
समूहको अलि लामोलामो कपाल पालेको मान्छे कड्कियो, ‘हामी भ्रष्टचार विरोधी आन्दोनलमा लागेका मान्छेलाई, यसो यताउता मिलाएर पैसा भुक्तान गर्न नसक्ने हुतिहारा सचिवलाई घेराबन्दीमा नपारेर पूजा गर्छौं त ?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक