भीमसेनको आक्रोश : मुक्तिनाथ शर्मा ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,पौष १४ ।
द्रौपदी चिन्तना पश्चात् भीमसेन अघि बढे
दाजु युधिष्ठिर संग आक्रोसित् गर्जना गरे
धर्मयुद्ध गरी राज्य प्राप्त गर्ने बिचार होस्
यसरि बनबासैमा बस्ने बिचार छाडियोस् ।।१।।
गाण्डिवधारी अर्जुन बाट राज्य सुरक्षित
थिया,े जाली जुवाबाट भयो राज्य पराजित
जुवाव्यसनले राजा ! ऐले हामी दुःखी भयौं
भए हजुरको आज्ञा राज्य फिर्ता लिनेथियौं ।।२।।
कृष्णार्जुन अभिमन्यु आदि वीर हुदा हुदै
बनबासी भई बस्न पर्ने हैन अवस्य नै
धर्मानुकुलनै होओस् युद्ध जितिन्छ निश्चय
तसर्थ युद्ध नै हाँक्न परेको छ सरासर ।।३।।
क्षत्रीयवीरका लागि न भीख माग्न योग्य छ
न त वैस्यहरू जस्तै व्यापार गर्नु बेस छ
उनका निम्तिमा बाहु बल युद्ध अपार छ
तसर्थ युद्ध हाँक्ने हो जित्ने हो धर्मपूर्वक ।।४।।
हे राजन् ! जसरिु सूर्य पृथ्वीको रस चुस्दछन्
पानी बर्साइ पृथ्वीमा रस सिञ्चन गर्दछन्
यसै गरेर राजाले कर लिन्छन् थुपार्दछन्
त्यसैले जनता रक्षा गर्छन् देश सजाउँछन् ।।५।।
बिन्ति यो छ महाराज ! हजुरले यसैगरी
देश सजाउनै पर्छ राजा भै पृथिवी भरी
उठ्नुहोस् हाँक्नुहोस् युद्ध हामीहरू तयार छौं
हाम्रो हार हुनेछैन हामी विश्वास गर्दछौं ।।६।।
हामीले हे महाराज ! धर्मपूर्वक युद्ध नै
गर्नुपर्दछ पक्का हो सोच्नुहोस हजुर नै
धर्मपूर्वकको युद्ध गर्न कम्मर कस्नुहोस्
दुर्योधनरूपी जङ्गल् अर्जुनबाट पाँड्नुहोस् ।।७।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक