गोकर्णेश्वर नगरपालिका वडा नं ४मा १५ दिने कुशन बनाउने तालिम जारी
कपन अनलाइन
काठमाडौं पौष २२। गोकर्णेश्वर नगरपालिका वडा नं ४मा १५ दिने कुशन बनाउने तालिम जारी रहेको छ। गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा वडा नं ४ को आयोजनामा संचालित उक्त तालिममा १९ जना महिलाहरुको सहभागिता रहेको छ । वडामा रहेका महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरी भविष्यमा साना व्यवसाय गर्न सक्षम बनाई स्थानीयस्तरमै आयआर्जन गर्न महिलाहरुलाई सहज होस् भन्ने उद्देश्यले उक्त तालिम शुरु गरिएको कार्यक्रम संयोजक तथा गोकर्णेश्वर नगरपालिका वडा नं ४ को वडा सदस्य उमा थापाले कपन अनलाइनलाइ जानकारी गराइन । थापाले तालिम सिकेर घरायसी काम गर्दै आफूले सिकेको सीप अरुलाई पनि सिकाउने र भविष्यमा व्यवसायको रुपमा अंगाल्ने अपेक्षा रहेको बताइन् ।
कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै वडा सदस्य जयराम महतलेतालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न सके महिलाहरु आर्थिक रुपमा समेत बलियो बन्ने भनाइ रहेको छ । उनले सो तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने बिश्वास गरेका छन ।
वडाले महिला उधम विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट बिनीयोजन गरेको जानकारी दिदै वडा अध्यक्ष श्री कुमार श्रेष्ठले तालिमले दिने परिणाम पनि उत्कृष्ट हुनुपर्नेमा जोड दिएका छन । तालिममा सिकेका कुरालाई व्यवहामा उतारेर सफल उधमी बन्न प्रशिक्षार्थीहरुलाई उनले आग्रह गरेका छन । उनले तालिममा सिकेका सिपलाई यत्तिकै खेर नफाल्न आग्रह गर्दै सिप भए स्वरोजगार बन्न सकिने भन्दै अध्यक्ष श्रेष्ठले यसको सही उपयोग गर्न सुझाव दिएका छन् । सहभागी प्रशिक्षार्थी महिलाहरुले तालिम निकै उपयोगी भएको बताएका छन भने उनिहरुले तालिममा सिकेका कुरा व्यवहारमा उतार्ने पनि बताएका छन ।