आज प्रशिद्ध रामनवमी पर्व
कपन अनलाइन\चैत्र १५, २०७१
“चैत्रे नवम्यां प्राक् पक्षे दिवा पुण्ये पुनर्वसौ ।उदये गुरुगौरांश्चोः स्वोच्चस्थे ग्रहपञ्चके ॥मेषं पूषणि सम्प्राप्ते लग्ने कर्कटकाह्वये ।आविरसीत्सकलया कौसल्यायां परः पुमान् ॥“ (निर्णयसिन्धुः)
आज मर्यादापुरुषोत्तम रामको जन्म दिन । देश तथा विदेशमा रहेका हिन्दू नेपालीहरूले आजका दिन घर एवम् मन्दिरमा पूजापाठ तथा व्रत बसेर धुमधामले राम नवमी मनाउने गर्दछन् । काठमाडौंको बत्तीसपुतलीमा रहेको प्रशिद्ध राम मन्दिर तथा जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्ने गर्दछ । आजका दिन रामको स्मृतिमा मुलुकभर पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म– –वाल्मीकि– तुलसीकृत– भानुभक्तीय रामायण वाचन गर्ने र रामको पूजाआराधना गरी रातभर भजनकीर्तन गर्ने परम्परा छ ।
त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख गरेको पाइन्छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई विष्णुको सातौँ अवतारका रूपमा जन्मेका रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेको तथा आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ । देश विदेशमा रहेका समस्त हिन्दूहरूमा रामनवमीको शुभकामना !!!