महानाटक : श्रीओम श्रेष्ठ ‘रोदन’ (लघुकथा )
कपन अनलाइन
काठमाडौं, पौष ३ ।
मञ्चको अगाडि सयौँ टेलिभिजनका क्यामराहरु थिए । भित्तामा एकताको ठूलो व्यानर टाँसिएको थियो । फरक विचारका दुई अध्यक्षले एकअर्काको हात समातेर उठाए । अँगालो मारे । कक्रक्क हुने गरी हात मिलाए । त्यसपछि दुवैले मुठ्ठी कसेर उठाए ।
तालीको आवाज लामो समयसम्म गुन्जिरह्योे ।
त्यसपछि दुवैले चस्मा मिलाउँदै एकै स्वरमा भने – हाम्रो एकता देशको लागि मात्र नभएर अरुका लागि पनि उदाहरण बन्नेछन् ।
अकस्मात एकता भएकोमा सबै आश्चर्यचकित भए । ताली पड्काउनेहरु पनि अलमलिरहेका थिए ।
उनीहरुको मन फाटिँदै गइरहेको थियो ।
फेरि अचानक एकअर्कामा आरोप प्रत्यारोप सुरु हुनथाल्यो । धोका भएको भन्नथालियो । षडयन्त्र भएकोे भन्नथालियो । एउटाले साथ नदिएको भने अर्कोले सहयोग नगरेको भने । एकताको नाममा नाटक भएको भनियो । त्यसपछि गुटका सभा समारोह बढ्नथाल्योे ।
विरोध र समर्थनमा जुलुसको प्रतिस्पर्धा दिनका दिन हुनथाल्यो । जुलुसमा ढुङ्गा हानाहान हुनथाल्योे । प्रहरीले लाठी चार्ज गर्नथाल्यो । दमकलको फोहरा छोड्नथाल्यो । घाइते हुनेको सङ्ख्या बढ्दै जानथाल्यो । अधिकाँस घाइते भने ताली बजाउनेहरु नै भएका थिए ।
जुलुसमा निकैबेर ढुङ्गामुढा भइरह्योे । दस वर्ष लगाएर बनाएको घरका अधिकाँस सिसाहरु फुटेका थिए ।
ह्वाङ्गै भएको घरभित्र भने उनीहरु जस्ताका त्यस्तै थिए । तर नाङ्गै देखिरहेका थिए ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक