केही थाहा छैन : शीतल गिरी ( निबन्ध )
कपन अनलाइन
काठमाडौं, पौष ३ ।
अनायास निम्ता पाएको थिएँ “मङ्गल स्मृतिग्रन्थ लोकार्पण” मा सहभागी हुने । उहाँको पहिलो बार्षिक पुण्यतिथि स्मृतिग्रन्थ निकालेर मनाइएको थियो । मेरा परिचित रौतहटका त्यसमा पनि खासगरी गौरकालाई भेटेर कुराकानी गर्ने विचार मनमा उव्जिएको थियो । सो कार्यक्रम आदरणीय गुरु पं.मङ्गलकुमार उपाध्यायको नाममा भएको थियो जो शरीरमा हुनुहुनथ्यो, तर श्री जुद्ध हाई स्कूलमा विद्यार्थी वनेर उहाँबाट शिक्षा आर्जन गरेका, व्यवहार व्यहोरिसकेका प्रत्येकका मनमा भने बाँचेकै हुनुहुन्छ । रचनाहरू पढेको छु, “अरुणिमा” काव्य त छापिनु अघि पाण्डुलिपि नै हेर्न पाएको हुँ र पाठकले उहाँको हृदयको धुकधुकी आफ्नो बनाउने गरेको पाएको छु ।
हामी नाम भएकाहरू पनि एक एक गर्दै मर्दै जानेछौ, तर मानिस बाँच्नेछ । जसको शब्दको सामथ्र्यले मानव जातिको हृदयलाई झक्झक्याइ रहन्छ, त्यो शब्ददिनेव्यक्ति मर्न सक्दैन । त्यस्तालाई अमर राख्नुपर्छ । विचित्र जस्तो लाग्दछ एउटा व्यक्ति मर्छ, बाँचेकाहरूले उसलाई बचाउन स्मृतिग्रन्थ प्रकाशित गर्ने चलन । लाग्दछ, जसको स्मृतिग्रन्थ निकालिंदैन त्यस्ता मात्रै मर्छन्, जो त्यसै लायक हुने गर्दछ ।
अनुभूति गरिएको सत्य मर्दै मर्दैन । जसले जीवनमा व्यवहार गरेर बाँचेको छ, त्यसैगरी मृत्यु पछि पनि बाँच्ने गर्दछ, तर मङ्गलकुमार उपाध्याय त हामी लेखककै समूहका हुनुहुन्थ्यो । एक किसिमबाट मङ्गलकुमारका हामी सजातीय हौं । यस्तो आत्मीय भावमा अधुरो अपुरो स्मृतिग्रन्थ प्रकाशित गरेर, हृदयदेखि उहाँलाई सम्मान गर्ने जमात (रौतहट त्यसमा पनि खासगरी गौरका) लाई उपेक्षागरी कार्यक्रम गर्नु आवश्यक थिएन भन्ने मलाई लाग्यो ।
सत्ताको वरिपरी झुम्मिने चाकरीवाजको घेरामा सम्पन्न गरिएको कार्यक्रमको कुनै अर्थ रहेन र छैन । कार्यक्रममा देखिएजस्तै वास्तवमै किनारीकृत हुनुहुन्थ्यो त श्रद्धेय गुरु मङ्गलकुमार ? बरु सत्ताका पुजेरी चाकरीवाजले वहाँमा रहेको गौरवासीले देखि, भोगि आएको अद्वितीय गुण देख्न सकेन, सक्ने कुरा पनि भएन ।
श्रद्धेय गुरुले कसरी पढाउनुहुन्थ्यो, संझाउनु हुन्थ्यो ? यसतर्फ खोई खोजविन गरिएको ? डा. सरोज धितालको स्मरणमा सम्पूर्णकुरो आउनसक्ने कुरो थिएन र आएन पनि ।
चिनेको, जानेको जसले पनि भन्छ कुरा ठिकै हो । राणाशासनको अंधकारव्याप्त समाजमा २००४ सालको वसन्त पञ्चमीमा पुस्तकालय स्थापना गर्दा साथमा को को थिए, कसरीस्थापना भयो ? त्यो इतिहास खोई ? उहाँले पुरोहित्याई कर्म पनि गर्नुभयो, कसरी गर्नु हुन्थ्यो त्यसबारे पनि लेखिनु पथ्र्यो नि त । पुस्तकालय स्थापनाको कति बर्षसम्म सक्रियरूपमा सेवा गर्नुभयो त्यो कुरा स्मृतिग्रन्थ तयारीमा जुटेका कसले बताउन सक्छ ? म कलाकुञ्ज पुस्तकालयको सचिव रहँदा धमिराले खान थालेका पुराना कागज खोतलखातल पार्दा संस्थापकहरूको माइनेटबुक फेला पारेर जीवित रहेकाहरूलाई २०५५ साल फागुन १ गते पुस्तकालयको ५१ औंं बार्षिकोत्सव मनाउँदा अभिनन्दन गरेका थियौं । सो अभिनन्दन पत्र पढेको भरमा शब्द राखेर झिनो जानकारी बाहेक पाठकलाई विस्तृत ज्ञान र अध्येतालाई भोलि इतिहास लेख्न सहयोग पुग्ने कुरा दिन नसकेको अभाव देखें । चिल्लो घस्न सिपालु मान्छे यथार्थमा प्रतिभाको दुश्मन हुन्छ, यो ग्रन्थ अध्ययन गर्ने जसले पं.मङ्गलकुमार उपाध्यायज्यूलाई चिनेको छ त्यस्ताको धारणा ‘साखुल्ले बन्नु र यथार्थ कुरो ग्रन्थमा ल्याउनु’ फरक फरक कुरा हो, अवश्य भन्छ ।
मस्तिष्कमा पूर्व प्रधानमन्त्रीका पिताको होइन् एक कर्मठ् शिक्षासेवी, पौरस्त्य साहित्यका ज्ञाताको स्मृतिग्रन्थ तयार गर्दै गरेको कुरा बसेको भए शायद श्रद्धेय गुरूप्रति यस्तो अन्याय हुन पाउने थिएन । कार्यक्रममा निकै फुर्तिफार्ती देखाउने हेर्दैमा चोरबाख्रोले हरीयो वालीमा आँखा लगाए जस्तै वानीवेहोरा झल्काउँने सुकिला मुकिला विचरा जो शक्तिकेन्द्र धाउनमै समय खर्चिने गर्छन्, त्यस्तामा ज्ञानको गहिराइमा पुग्ने साधनामा कमी पाइनु स्वाभाविकै हो । त्यसैले गौरका गौरव, जसले पौरस्त्य साहित्यको चर्चा हनुमान थानको चौतारीमा गर्नुभएको थियो, शिवालयमा गर्नुभएको थियो र सोही क्रममा व्याख्यागर्ने आफ्नो दृष्टिकोण बनाउनु भएको थियो, जसलाई गौरका मानिसले माात्र हैन एक एक धुलकणले चिन्दछ, त्यस्ताकोबारेमा लेख्न सक्ने मानिस विचराले भेट्न सकेन । हुन पनि हो कुवाँको भ्यागुतोले अवश्य सिंगो आकाश देख्न पाएको, बुझ्न पाएको हुँदैन ।
त्यसो भए ?
चाकरी बजाउने मानसिकताबाट मुक्त भएर गहन अध्ययनगरी ज्ञान बढाएर सृजन कर्ममा लागेको भए हुने थियो ।
श्रद्धेय गुरुसँग मेरो कस्तो सम्बन्ध थियो ? यस कुराको साक्षी गुरुआमा हुनुहुन्थ्यो, श्रद्धेय गुरु मकहाँ आउनुहुन्थ्यो, मलाई बोलाउनु हुन्थ्यो, वहाँको एउटा पुस्तक अहिले पनि मसंग छ भने मेरा तीन पुस्तक वहाँ कहा हुनुपर्छ, यदि गौरबाट ल्याइएको छ भने । मधेश आन्दोलनले पहाडीमाथि प्रहार गर्न थालेपछि म पनि परिवार सहित काठमाडौं भासिएँ, वहाँ जेठो छोराको साथमा बस्नुहुन्थ्यो, भेटघाट गर्ने गौरको जस्तो सहज वातावरण नभएको हुँदा श्रद्धा गर्ने भएर पनि म गइन ।
गौरमा श्रद्धेय गुरुले बनाउनु भएको घर छ । मेरो लागि त्यो घर नभएर मन्दिर थियो र म गइरहन्थें ।
वहाँका रचनाहरू छापिनु अघि नै पढेको छु ।
कार्यक्रममा भनियो शिक्षासेवीको घर पनि मधेश आन्दोलनको निशाना बन्यो भनेर । म सो घटनाताका गौरमा नै थिएँ । वाहिरबाट ल्याइएका मानिसहरूले एउटै कम्पाउण्डमा रहेको घर नेकपा (एमाले) का नेता माधवकुमार नेपालको भनेर आक्रमण गरेका हुन् । जब श्रद्धेय गुरुको घरमा आक्रमण भएको जानकारी कानुटोलकाले थाहा पाए हातमा लाठो लिएर तोडफोड गर्ने जमातलाई लखेटेका पनि त थिए, खोई त्यो कुरा किन उठेन ? वास्तविकता यही हो, नेता माधव नेपालले बनाउनुभएको घरले मधेशी आन्दोलनकारीको प्रहार झेलेकै हो ।
नेताको घर भएकोले राज्यले तत्काल क्षति ब्यहोरेकै हो । मधेश आन्दोलनमा रौतहट जिल्लामा मात्रै १० भन्दा बढी पहाडियाका घरहरू जलाइएका थिए । पच्चीस भन्दा बढी घर लुटिएका थिए । म जस्ता निरीह थुप्रैले आफ्ना बालबच्चा च्यापी थात थलो छाडेकै हो । जसको समाउने र टेक्ने ठाउँ हुदैन त्यस्ताको कसैले चर्चा गर्दैन— यहाँ त प्रसङ्ग आएको हुँदा आफ्नो दुःखेसो पोख्न पुगें ।
बाँच्नु छ स्वाभिमान बँचाएर यतिमात्र थाहा छ मलाई । तब गौरमा हुनु र अहिले मनहरा, काँडाघारीमा हुनुमा मेरो लागि कुनै अन्तर परेन । स्वाभिमानी, सरल, कसैसँग नरिसाउने, अध्ययन गरेर समय सदुपयोग गर्न मनपराउनु हुन्थ्यो श्रद्धेय गुरु मङ्गलकुमार । छोराहरूको भर नपरेर आफ्नै स्वाभिमानसाथ गौरको घरमा दुइ पतिपत्नी बस्नुहुन्थ्यो । एकल बनेपछि उमेरको उतरार्धमा भने आवश्यकतावश छोरा बुहारीको साथ काठमाडौंं बस्न थाल्नुभयो ।
जुन श्रद्धेय गुरुले गौरमा जीवन विताउनु भयो, गौरले सम्मान ग¥यो ती दिनहरूको स्मृतिग्रन्थमा पूर्ण अभाव रहेको महसुस गरें । छोरा बुहारीबाट प्राप्त हुने सुख भन्दा बुढेउली पति–पत्नीको, एकअर्काको एकान्तको साथको जीवन गौरमा गुजार्न चाहनु भयो, वहाँको काठमाडौंको वसाइ भनेको त बढीमा त्यही डेढ दशकको न हो । गौरका मानिसलाई थाहा छ वहाँ एक हातको औंलामा गन्न सकिने परिवारको पुरोहित हुनुहुन्थ्यो । श्राद्ध गराउँदा उहाँ आफै एक छाके बस्नुहुन्थ्यो । यो कुरा गुरु आमालाई थाहा थियो, छोरा–वुहारीलाई जानकारी भएजस्तो लागेन ।
गौरको घरमा छोरा–वुहारी पाहुना समान न थिए— चालिसको दशक पछि, तर स्मृति ग्रन्थमा शास्त्र सम्मत पुरोहित्याईले ठाउँ पाएन । धेरैजसो मानिस बलेकै आगो ताप्छन् । त्यो मलाई थाहा छ । गौरका मानिसलाई भन्दा धेरै जानकारी श्रद्धेय गुरुको बारेमा अन्तकालाई हुन पनि सक्दैन । स्मृतिग्रन्थ तयार पार्दा धेरै कुरोमा होशियार हुनु आवश्यक हुन्छ ।
श्रद्धेय गुरु जसले छोरा–छोरीलाई सफल बनाउन ठुलो मेहनत गर्नुभयो, उहाँकै स्मृतिग्रन्थ आकारको दृष्टिले ७७४ पृष्ठको रहे पनि पूर्ण जस्तो लागेन मलाई । शायद गौरको भएको, त्यसमा पनि साहित्यप्रति रुचिको कारणले उहाँबाट मैले धेरै अपनत्व पाएकोले त्यस्तो लागेको होला । श्रद्धेय गुरुको प्रतिभा वहाँले लेखेका पुस्तक मात्रबाट थाहा पाउन सकिन्न, स्मृतिग्रन्थ तयार पार्ने जिम्मेवारी लिएका चतुर र निस्वार्थ भएको भए धेरैबाट वास्तविक कुरो ल्याउन सक्ने थिए । सुकिला मुकिलालाई मेरो धारणा कस्तो लाग्ने हो ? प्रतिभा तपाईं केलाई भन्नुहुन्छ ?
स्मृतिग्रन्थले त आदरणीय श्रद्धेय गुरु पूर्व प्रधानमन्त्रीका पिता हुनु नै प्रतिभा भएतर्फ संकेत गर्छ ? यसैलाई मैले तपार पार्ने जिम्मेवारी लिनेको नैसर्गिक चरित्र भनेको हुँ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालज्यू मात्र हैन वहाँका तिनैजना दाजु भाइले मलाई राम्ररी चिन्नुहुन्छ । रह्यो लेखक शीतल गिरीलाई वहाँहरूले नचिन्न पनि सक्नुहुन्छ । मलाई आफ्नो पुस्तक बाडेर चिनाउन स्वीकार पनि छैन । लेखकको पहिचान उसको रचनाको सामथ्र्य हो र मेरा रचना गहिरिएर अध्ययन गर्नेले चिनेका छन् । अर्थात् रचनाको कसी मेरा पाठक हुन्, तिनको माया पाएकै छु । नेपाली साहित्यको गहिरो अध्ययन गर्ने अध्येताका लागि अपरिचित छैन म । त्यसैगरी लेखकको हैसियतमा जति तारिफ श्रद्धेय गुरुको हुनुपथ्र्यो त्यो नभएको भने होइन । स्मृतिग्रन्थमा भोलि इतिहास लेख्नको लागि आवश्यक पर्ने ससना कुराहरू खोजेको हुँ मैले । माधवकुमार नेपाल पहिलो पटक उपप्रधानमन्त्री बन्दा उत्साहको साथमा गौरमा दीपावली गरिएको थियो ।
त्यो कसको पहलमा कसरी भएको थियो ? खैर त्यतापट्टि जान चाहन्न म । कमरेड माधव उपप्रधानमन्त्री बन्नु अघिसम्म भेटघाटको वातावरण सहज थियो, थोरैले भेट्थे गौरमा र त्यसमध्येको एउटा पात्र म पनि थिएँ । कमरेड उपप्रधानमन्त्री बनिसकेपछि भेट्नेको भीड बढ्न थाल्यो, वातावरण पहिले जस्तो सहज रहेन र म घण्टौं कुर्ने समय नभएको, समय अध्ययन र लेखनमा दिन मनपराउने ववुरो भएकोले भेट्ने प्रयत्न पनि गरिन । कमरेडबाट केही लिनु, चाहनु थिएन, किन दुःख दिनु ? वरु म अध्ययनमा एकोहोरिएँ । पहिले गौर आउनु हुँदा कमरेडसंग घण्टौ समय विताउने मध्येमा पर्थे म ।
पार्टी सरकारमा गएपछि वहाँसँगको भेट अति कम छ र म काठमाडौं भासिएको पनि सात वर्ष भयो । यसबिच कार्यक्रमस्थलमा दुईपटकमात्र सामान्य कुराकानी भयो हामी बीच । कोटेश्वर धाएको भए सजिलै त नभनौं भेट्न सक्थें कमरेडलाई । मेरो कृति प्राग्ऐतिहासिक निबन्धसँगालो र बज्जिबारे गरेको अनुसन्धान ग्रन्थ उपहार दिएको भए सम्बन्धमा गाढा पनि आउने थियो । तर मेरो स्वभाव अलि भिन्न भएको हुँदा कमरेडले व्यक्ति शीतल गिरी यही हो भनेर चिन्नु हुन्न । विनोद दाईले चिन्ने कुरै भएन अझ सरोजले त कसरी चिनून् । हेर्दछु काठमाडौंमा हिजोको पहिचानको मापदण्ड डगमगाएको छ ।
श्रद्धेय गुरुप्रतिको मर्यादा मेरो मनमा हिजोको नै छ । कत्र्तब्य पालन गर्न, अनुशासन कायम राख्न, हितकारी परंपरा टिकाउन असल शिक्षा दिने व्यक्तिको रूपमा एउटा मात्र नाम लिनु पर्दा श्रद्धेयगुरु मङ्गलकुमारज्यूलाई धेरैले सम्झिन्छन् र मैले पनि सम्झनेगरेको छु, ओठेभक्तिले नभएर हृदयदेखि । वहाँको शिक्षा अनुसार स्वाभिमानी बन्ने प्रयत्न गर्दैछु । स्वार्थवश लाभ हैन, त्याग गर्न मनपराउँछु । स्मृतिग्रन्थमा त्यो व्यक्तित्वको चर्चा हुनु पर्ने हो ।
त्यसको ठाउँ अति प्रशंसाले लिन पुगेको छ । प्रत्येक आफ्नो व्यक्तित्वको विकास चाहन्छ, म पनि यसदेखि पृथक् हुन सक्दिन । श्रद्धेय गुरुको व्यक्तित्वले नै स्मृतिग्रन्थ तयार भएको हो । परिवारले मात्रै लेखेर स्मृतिग्रन्थ पूर्ण बन्दैन । स्मृतिग्रन्थमा त सम्पूर्ण व्यक्तित्व झल्किनु पर्छ ।
आफैमा सक्षम व्यक्ति नभएसम्म तयार गरिएका स्मृतिग्रन्थ इसाको चौधौं शताब्दीमा संकलन गरिएको प्राचीन इतिहास उल्लेख गोपाल वंशावली झै झाराटार्ने काम मात्र हुन्छ, त्यो अनुभव भयो । स्मृतिग्रन्थले व्यक्तिबारे एक थोक भन्छ नजिकबाट चिन्नेले अर्को थोक भन्छ— आफैमा फरक । चिन्दै नचिनेकाले निश्चित फ्रेममा शब्द भर्ने परिपाटीले सत्य भन्दा पर लैजान्छ । श्रद्धेय गुरुमा प्रतिभा थियो, पहिचान थियो, कार्य थियो त्यो अटाउन सकेन । आफ्नो कर्तब्य, अनुशासन र परम्परा ईमानदारीसाथ पालन गर्नुलाई नै शायद प्रतिभा भनिन्छ ।
यो सत्य हो उहाँले आफ्नो मिलनसार, सरल व्यवहारले धेरैको मन जित्नुभयो । धेरैलाई आफ्नो बनाउनुभयो यो कल्पना नभएर यथार्थ हो । परम्परा पालन गर्नुभयो अरुको चित्त नदुःखाएर । उहाँ सिद्धान्तवादी, प्रतिभायुक्त, व्यक्तित्ववादी हुनु भएको हुँदा नै सबै सन्तानले प्रगति गर्न सकेका हुन् । पं.मङ्गलकुमार सफल शिक्षासेवी हुनुभयो— सफल समाजसेवी, लेखक, संस्कार रक्षक, परिवारको संगठक नहुने त कुरै भएन ।
जसले नाम कमाउँछ, यशकीर्ति कमाएको हुन्छ, त्यस्ताको परिवारमा पनि अवश्य त्यो प्रभाव परेको हुन्छ । त्यसै भएको हुँदा देश र जनताप्रति अर्पित हुन सकेको हो परिवारका सदस्य । यस्ता आमा–बुवा एकदम कम व्यक्तिले पाउँछन् । सामाजिक र पारिवारिक कत्र्तव्य पालनगर्न सकेको परिवारका सदस्यले चौतर्फि विकास गर्न सक्छ त्यसको ज्ज्वलन्त उदाहरण हो उहाँ र उहाँको परिवार । उहाँले आर्जन गरेको अनुभव छोराहरूको माध्यमबाट देश उन्नतिमा लगाउनुभयो ।
उहाँ धेरै कुरो सहनुहुन्थ्यो, सन्तानको भलो चाहनु हुनाले परिवारप्रतिको कत्र्तव्य र मर्यादा पालन गर्ने दायित्व वहन गर्ने क्रममा उहाँले साहित्यकार व्यक्तित्वलाई धेरै समय दवाएर राख्नुभयो, यसको अर्थ यो होइन सन्तान सम्पन्न बनेपछिमात्र साहित्य सेवामा पुनः जुट्नुभयो । उहाँले गौरका मन्दिरहरूमा, ठाउँ ठाउँमा जुन ज्ञान प्रसारण गर्ने गर्नुहुन्थ्यो तिनीहरूको संकलन र तिनको परिमार्जित रूप नै पुस्तकाकार कृति हुन् । यो कुरो बास्तवमा बडो महत्त्वपूर्ण हो । एक किसिमबाट उहाँ त्यागी पनि हो । आफ्नो वालवच्चाको भविष्यप्रतिको ईमान्दारीले साहित्यप्रतिको रुचिमा हिडनु भएन, यसले उहाँलाई माथि उठाएको छ । उहाँको भाषाप्रतिको समर्पण समर्थनीय छ । भाषा र साहित्य एक अर्काका पूरक हुन् । उहाँ आफ्नो लगन, क्षमताले भाषा र साहित्य साधक बन्नु भएको हो । उहाँलाई विराट प्रतिभा भनेर भन्न म हिचकिचाँउदिन, भोलिका दिनमा स्वच्छ अध्ययन र मूल्याङ्कनले त्यो देखाउने नै छ । समस्या भनेको उहाँलाई राम्ररी कसले बुझेको छ ? भन्ने कुरामा हो । यो नै यस लेखनको केन्द्रीय विषय हो ।
कलाकुञ्ज पुस्तकालय, गौरले यतिकै, विना प्रमाण संस्थापक सदस्य भनेर अभिनन्दन गरेको भने थिएन । मैले त स्मृतिग्रन्थमा पुस्तकालयका नीलकण्ठ थपलिया, दिपेन्द्रकुमार श्रीवास्तव, सुशील कुमार झा, शंकर थापा, संस्थापक मध्ये मैले थाहापाएसम्म बाँचीरहेको शंकरप्रसाद उपाध्याय, अनी गौरका मोहन थापा, पत्रकार सञ्जयकुमार साह, साहित्यकार माधव काफ्ले, गौरमा वाल्यकाल विताएका राजनीतिज्ञ नारायणमान विजुक्छे, रौतहटमा प्रजिअ बनेर बसेका साहित्यकार नरेन्द्रकुमार पौडेल, श्रद्धेय गुरुका घर वरिपरीका छिमेकीहरूको संस्मरण— अन्तर्वार्ताकै रूपमा भएपनि हेर्न चाहेको थिए जसले नजिकबाट राम्ररी चिनेका थिए । पक्कैपनि छिमेकीको जति राम्ररी कुलपति गंगाप्रसाद उप्रेतीज्यूबाट प्रामाणिक कुरो आउन नसक्नु स्वभाविकै हो । यस्ता महान् व्यक्तिको स्मृतिग्रन्थमा त धेरै कुरो ल्याउनको लागि छिमेकीहरूसँग समेत अन्तरसंवाद गर्नुपर्ने हुन्छ जो हुन सकेन । उहाँ टुप्पोबाट पलाउनु भएको होइन, उहाँले टेकेको ठाउँ छ— गौर, सास फेरेको ठाउँ छ— गौर ।
उहाँको पुस्तकको समीक्षा त दश बर्ष पछि गरिए पनि कुनै फरक पर्दैन, एउटा पुस्तकको एक जनाबाट गराए पनि हुन्थ्यो । कारण, पुस्तक समीक्षाबाट व्यक्तिको व्यक्तित्व समग्र रूपमा आउन सक्दैन । उहाँलाई यथार्थरूपमा चिनाउने यो अवसर थियो, गयो । अब चाहेर पनि सबैकुरो कसैले ल्याउन सक्तैन र स्मृतिग्रन्थ पटक–पटक लेखिने कुरो पनि होइन । कमसेकम जिम्मालिने व्यक्ति पुर्वाग्रही त नभनुँ विचारवान्, प्रतिभावान भएको भए श्रद्धेय गुरु कसरी सवैको प्रिय हुन सकेका थिए ? ती कुरा आउँथ्यो । आनीबानी व्यवहार छिमेकीबाट प्रष्टिन्थ्यो । कतिको कर्तब्यनिष्ठ र धर्मनिष्ठ हुनुहुन्थ्यो त्यो कुरा उहाँलाई राम्ररी चिन्दै नचिनेकाले कसरी बुझून् ? त्यही भएर यो स्मृतिग्रन्थ साइजमा मोटो भए पनि गाँठी कुरो नभएको अपुरो भनेको हुँ । मान्नै पर्दछ आफ्नो दुनो सोझ्याउन शक्तिकेन्द्र धाइरहनेबाट गौरको सामाजिक जीवन बुझ्न सक्ने कुरो त भएन । जसको जीवनको करीब पचासी बर्ष गौरमा वित्यो त्यही गौरलाई स्मृतिग्रन्थमा उपेक्षा गरिएको छ कस्तो विडम्वना ? गौरवासीको लागि महान शिक्षक हुन्— मङ्गलकुमार । काठमाडौंमा विभिन्न पेशागरी बसोवास गरेका गौरवासीहरूलाई कार्यक्रममा पनि बोलाइएन । बोलाइएको भए अवश्य आउने थिए आफ्ना श्रद्धेय गुरुको सम्मानमा, तर त्यहाँ त पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको पिताको पो स्मृतिग्रन्थको कुरो रहेछ । पार्टीका नजिककाले लेखे, उपस्थित भए पुग्यो । सांस्कारिक पिताका पुत्रहरूबाट अवश्य नै यो गल्ती भएको होइन । ठुला बडाको ठुलै चाला जिम्मेवारी सुम्पिए भूमिका सकियो । मलाई पनि कार्यक्रम हेर्दा त्यस्तै लाग्यो । जिम्मेवारी बोकाइएकोबाट आशा नै कति गर्न सकिन्छ र ? नेपाल परिवारको लागि एउटा परीक्षा थियो त्यो कार्यक्रम, र परीक्षामा यो परीवार उत्तीर्ण हुन सकेन भलै मिडिया र वरिपरीकाले प्रशंसा किन नगरून । गौरसंग आत्मीयनाता श्रद्धेय गुरुको जीवनकालसम्म रह्यो, कार्यक्रम हेर्दा यस्तो लाग्यो मलाई । रौतहट, वसतपुरका दार्शनिक प्रवर श्री पं.वेदानन्द झाको विद्वता स्थानियले कसरी थाहा पाउने ? उहाँ स्थानीयसँग जोडीनु भएन, वहाँको दार्शनिक रचनासँग स्थानिय परिचित भएन । तर श्रद्धेय गुरुको कुरा भने भिन्नै हो । यहाँ मलाई साहित्यकार डिल्लीराज अर्यालको अढाईवर्षिय नाति अर्पण अर्यालले हजुरबुवालाई यदाकदा भन्ने गरेको संझना आयो— “बुवालाई केही थाहा छैन ? हाम्लाई मात्रै थाहा छ ।” यही वालहठले यो स्मृतिग्रन्थ तयार गर्दा काम गरेको छ । वालहठ स्वाभाविक र स्वच्छ हुन्छ तर यो नियतवश गरिएको हो, कुरा त्यत्ती हो । कामरेड माधवकुमार नेपालको सम्वन्ध देश विदेशसंग हुन्छ, छ र व्यवहार त्यही अनुसारको गर्नु स्वाभाविकै हो, तर श्रद्धेय गुरु त गौरको गौरव हो नि । वहाँको सही मूल्याङ्कन र श्रद्धाञ्जली भने गौरबासी उपस्थित नभएको, महत्त्व नदिएको कार्यक्रम र स्मृतिग्रन्थमा हुन सक्दैन । त्यहाँ नभएर के भो गौरका उहाँलाई चिन्ने एक एकलाई सोध्नुस् प्रत्येकको धुकधुकीमा हुनुहुन्छ, पं.मङ्गलकुमार उपाध्याय ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक