नेपालले गर्व गरोस् : त्रिलोचन आचार्य ( कविता )
कपन अनलाइन
काठमाडौं, पौष ३ ।
१. हिमाल हाँसे म रमाउँने छु
पहाड हाँसे म रमाउँने छु
हाँसे तराई म रमाउँने छु
नेपाल चम्के म रमाउँने छु ।
२. माटो मलाई छ यही उज्यालो
बाटो मलाई छ यही उज्यालो
लाग्छन् उज्याला वन खेत बारी
धरा यही हो दरिलो छहारी ।
३. म देख्न सक्दा पहरा चियाऊँ
म टेक्न आफ्नै लहरा समाऊँ
डाँडा चुली यी सब हुन् विधाता
आभा छ चोखो दृढ प्रेम नाता ।
४. मेरो कला हो सब देशलाई
मेरो गला हो सब देशलाई
हिँडौँ म प्यारो धरती समाती
नेपालले गर्व गरोस् म माथि ।
५. म चम्किए यो घर चम्किने हो
म लम्किए यो घर लम्किने हो
म देश हूँ देश म भित्र बाँच्छ
यो देश मेरै प्रिय भाव साँच्छ ।
६. म बन्नु कैल्यै पनि हुन्न अल्छी
तर्नै छ मैले कति भेल गल्छी
निराश मैले हुनुहुन्न कैल्यै
थाकेर मैले रुनुहुन्न कैल्यै ।
७. चढ्दै उकाली पसिना म छर्छु
अर्पी जवानी श्रम सीप भर्छु
कर्तव्यले जन्म म थलो सिँच्छु
यै काखमा जीवन यो म दिन्छु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक