आज विश्व क्षयरोग दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
काठमाडौँ, १० फागुन – आज विश्व क्षयरोग दिवस। उपचार सेवाको पहुँच भन्दा बाहिर रहेका ३० लाख रोगीको पहिचान गरौं, सबैको उपचार गरौ भन्ने नारासहित नेपालमा पनि यो दिवस मनाइदैँछ।
दिवसका अवसरमा विभिन्न स्वास्थ्य संघसंस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरिदैँछ। जर्मन चिकित्सक रर्वट कुकले सन् १८८२ मार्च २४ तारिखमा क्षयरोग अर्थात टीबीको किटाणु पत्ता लगाएको दिनको सम्झनामा हरेक वर्ष मार्च २४ तारिखका दिन विश्व क्षयरोग दिवस मनाउदै आएको छ।
विश्वमा हरेक वर्ष क्षयरोगका ९० लाख नयाँ रोगी देखा पर्ने गरेको र १५ लाखको ज्यान जाने गरेको तथ्याँक छ। नेपालमा हरेक वर्ष ४५ हजार नयाँ क्षयरोगी थप भएपनि ३० हजारले मात्र स्वास्थ्य सेवा लिइरहेका छन्। नेपालमा ८० हजार ५० जना क्षयरोगी भएको सरकारी तथ्यांक छ।
गरिबी, चेतनाको अभाव र स्वास्थ्यकर्मीसँग स्वास्थ्य संस्थाको पहुँच नभएकोले पनि क्षयरोगी स्वास्थ्य सेवाको पहुँचं भन्दा बाहिर परेको नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष देवेन्द्र बहादुर प्रधानले बताए। ग्रामिण क्षेत्रमा शिविर संचालन गर्ने, खकार परिक्षणको लागि प्रयोगशाला खोल्ने, प्रयोगशाला नभएको ठाँउमा कुरियर गरेर भएपनि खकार परिक्षण गर्ने, जनचेतनाका कार्यक्रम संचालन भएमा रोगी स्वास्थ्य सेवाको दायरामा आउने डाक्टरहरुको भनाई छ।
दुब्लो हुने, बेलुकापख ज्वरो आउने, खान मन नलाग्ने, छाती दुख्ने, खकारमा रगत आउने लगायतका लक्षण क्षयरोगका लक्षण हुन्। यस्ता लक्षण देखिनासाथ नजिकको स्वास्थ्य संस्थामा जँचाउन डाक्टरको सुझाव छ। सरकारले क्षयरोगीका लागि नि:शुल्क औषधीको ब्यवस्था गरेको छ।