एमालेको दशौँ राष्ट्रिय महाधिवेशन,आजदेखि बन्द सत्रको कार्यक्रम हुने
कपन अनलाइन
काठमाडौँ, मंगसिर ११ नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ ।बन्द सत्रको कार्यक्रम चितवनको सौराहामा बिहान साढे आठ बजेदेखि सुरु हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।
बन्द सत्रमा विधान संशोधनको विषयमा छलफल नगर्ने निर्णय गरेको एमालेले पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेपछि यसलाई पारित गर्न पुन: विधान संशोधनको विषयमा पनि छलफल गर्ने भएको छ ।यस्तै, आज नै बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्ताको समय रहेको निर्वाचन समितिले बनाएको छ ।आजै बेलुका साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भोलि मतदान गर्ने कार्यक्रम तय भएको छ । नेकपा एमालेले केन्द्रिय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउने भएको छ । सौराहामा आयाेजित पार्टीको अन्तिम केन्द्रिय कमिटी वैठकले सो निर्णय गरेको हो ।
एमालेले ९९ सदस्यीय पाेलिटब्यूराे गठन गर्ने निर्णयसमेत गरेकाे छ । ४५ सदस्यीय स्थायी समिति यथावत रहने भएकाे छ । एमालेका आयाेग २५ सदस्यीय हुने भएका छन् ।अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार पदाधिकारी संख्यासमेत थप गरिएकाे छ । जसअनुसार उपाध्यक्ष ६ जना र उपमहासचिव तीन जना रहनेछन् । कुल पदाधिकारी संख्या १९ पुगेकाे छ । यस्तै सचिवालय १९ सदस्यीय हुने भएकाे छ । हाल पदाधिकारीमध्यबाट ५ जनाकाे सचिवालय बनाउने व्यवस्था रहेकाे थियाे ।अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै राखेको प्रस्तावलाई केन्द्रिय समिति वैठकले सर्वसम्मतिले पारित गरेको हो । केन्द्रिय समितिले गरेको निर्णयअनुसार भोलीको बन्द सत्रमा विधान संसोधन प्रस्ताव पेश गरिने पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिएका छन ।