गोकर्णेश्वरको अस्फाल्ट प्लान्टमा आक्रोसित स्थानीय द्वारा तोडफोड
कपन अनलाइन
काठमाण्डौ ,असोज २४ ।
गोकर्णेश्वर र बुढानीलकण्ठ नगरपालिकाको सिमानामा स्थित पानी खोल्सामा संचालित अस्फाल्ट प्लान्ट ( बिटुमिन) कारखाना शनिबार स्थानियहरुले तोडफोड गरेका छन् । सनिवार बिहान करिब ७० को संख्यामा जम्मा भएका स्थानियहरुले वातावरण प्रदुषण भएको र नियम विपरीत खोलिएको उक्त कारखाना तोडफोड गरेका हुन् ।
स्थानीय जनतालाई जानकारी समेत नदिई करिब ३ महिना अगाडि संचालन गरिएको उक्त कारखानाबाट निस्किएको धूवाँको मुस्लोले ५ वटा गाउँलाई प्रदुषित गरेपछि स्थानीयहरु सनिवार विरोधमा उत्रिएका थिए।
गोकर्णेश्वर नगरपालिका भित्र गैरकानुनी रुपमा संचालित कारखाना बन्द गराउन नगर प्रमुख सन्तोष चालिसे र वडा अध्यक्ष राजिव थापाले सात दिन भित्र अस्फाल्ट कारखाना हटाउने वचन दिएका थिए।
त्यस्तै केहि समय बन्द भएको सो कारखाना वर्षा सकिए लगत्तै राती-राती अस्फाल्ट कारखाना संचालन गरि वातावरण प्रदुषण भएपछि रात भर सुत्न नसकेको गुनासो गर्दै आएका स्थानीयहरुले शनिबार कारखाना तोडफोड गरेका हुन्।