देश प्यारो मलाई : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असोज ९।

मेरा आँखा हिम शिखर यी चुम्न जैल्यै अडिन्छन्
मेरा भाका सरस वनमा गीत बन्दै सजिन्छन्
रोज्दै खोज्दै वरपर घुमेँ पाखुराको कमाई
आफैँ भन्दा पनि हरघडी देश प्यारो मलाई ।।१।।

यै छाप्रोमा सुख छ कहिल्यै बङ्गला खोज्न जान्न
भोटो टोपीसँग म छु सधैँ हुन्न छाडेर भेष
मेची काली रगत र नशा प्राण पाखा तराई
नेपाली हुँ मुटुसरह यै देश प्यारो मलाई ।।२।।

मेरै माटोभरि हर पला भक्तिको डुल्छ छाया
मेरै बाटोतिर अरनिको आउँछन् खोज्न माया
लक्ष्मी भन्छन् अमर रचना रच्न खोज्छन् नि आई
भोकै बाँचौँ तर अटल यै देश प्यारो मलाई ।।३।।

यै छातीमा अमर सपना बोक्न बाँकी छ मैले
यै पाटीमा सकुशल कला खोप्न बाँकी छ मैले
फाल्नै बाँकी छ तिमिर सबै घाम नौलो उदाई
टाढा जाऊँ नभन न कतै देश प्यारो मलाई ।।४।।

यैँ फुल्दैछन् वन कुसुमका दिव्य थुँगा अनेक
यैँ बग्दैछन् श्रम र पसिनासाथ गङ्गा समेत
ढोगेँ मैले सकल धरती तीर्थ ठानी रमाई
खोजे भेट्छौ हर पल यहीँ देश प्यारो मलाई ।।५।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।