प्रकृतिको गीत : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २६।

१. पानी प्रकृतिको प्राण हावा श्वास र धड्कन –
नशा र मुटु हुन् प्यारा माटो ढुङ्गा अनेकन ।
रोप्छ सपार्छ त्यो बाली पेट भर्न समस्तको
खाना, नाना र छानाको जोहो गर्न छ व्यस्त त्यो ।

२. घाम जून घुमेका छन् स्रष्टाको त्यै कलातिर
जीवको जन्म त्यै चोखा फूलबुट्टे थलातिर
कतै हाँसो कतै आँसु सृष्टिको रङ्गमञ्चमा
सुख्ख दुख्ख छरेको छ अनेकौँ परिपञ्चमा ।

३. म टेकेँ पाइला भन्छु तयारी उसकै थियो
बसेँ शीत्तलमा भन्छु छहारी उसकै थियो
बनेँ सम्पन्नझैँ छाती उदारी उसकै अहो !
मर्ने चिन्ता म के गर्नु ? लाचारी उसकै नहो ।

४. म बाल्छु बिजुली खोज्दै उसकै जल सम्पदा
रम्दै जहाजमा उड्छु आँगनी उसकै अहा !
हिमाल उसकै माथ, उसकै पेट सागर
म दुई दिनको यात्री यो बास उसकै घर ।

५. म जे हुँ सृष्टिको यौटा सानो बिन्दु समान हुँ
परन्तु म स्वयंभित्र चौडा सिन्धु समान हुँ
बन्दै बालक धर्तीमा नित्य धाइरहन्छु म
प्यारो प्रकृतिको दिव्य गीत गाइरहन्छु म ।

६. जसरी उसले ल्यायो लैजान्छ उसले पछि
उसको न्यायमा देखौँ के सङ्गति विसङ्गति ?
उसकै दुनियाँ हामी के बस्नु व्दन्व्दमा फसी ?
बरु बिर्सिइँदै चिन्ता, लेखिन्छ कविता बसी ।

७. भए पनि स्वयं आफैँ स्रष्टाको खूद बिस्कुन
बलेको दीपझैँ बन्दै म पर्छ नित्य चम्कन
बाली हल्हल देखिन्न फाँटमा नगएतक
खाली बस्न सुहाउन्न घाटमा नगएतक ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।