पसिना : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १९।

कर्तव्यको गगनभित्र रमाउँदै छु
विश्वासका किरण दिव्य समाउँदै छु
बन्दैछु व्यस्त पर छैन कुदेर जानु
संसार सुन्दर सधैँ दिलदार छानु ।१।

को छन् प्रसन्न लुटतन्त्र चलाउँदैमा ?
को शान्ति भेट्छ छल भित्र रमाउँदैमा ?
इच्छा भरेर म त्यता दगुरेर जान्न
अर्बौँ लिएर धन सुख्ख भनी रहन्न ।२।

होस् फाइदा दिनदिनै दल फेर्न सक्छन्
बोकेर बन्दुक सधैँ छल गर्न सक्छन्
होलान् अरू तर त्यता म कदापि जान्न
बेची इमान म त साँझ बिहान खान्न ।३।

खोला कुदेर कति छैन निराश हेर
बेला गरेर श्रम स्वच्छ विशाल हेर
खै रात पोख्छ र कतै बह पग्लिएर ?
राखेर धैर्य नभ बाँच्दछ अग्लिएर ।४।

आनन्द मिल्छ पसिना बरु पोख्न पाए
सन्त्रासका विषय वादल रोक्न पाए
मै कार्यक्षेत्र सबको अनि धर्मक्षेत्र
गर्दै रहन्छु श्रम जान्न कतै अन्यत्र ।५।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।