बुझिन्न यो नाटक–मञ्चलाई : परशुराम पराशर (कविता )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १२।
हामी सबै मानव एक जाति
न हुन्छ सानो न त हुन्छ माथि
भन्दै सुनाए विधिसाथ आई
असत्य झैँ लाग्दछ यो मलाई । १
इच्छा अनेकौँ मनमा थुपारी
गर्दै थिएँ जीवनको तयारी
आए सिकाए कति सत्य आई
लाग्यो सबै नाटक नै मलाई । २
नेता, हितैसी, सब बन्धुभाइ
आफन्त को हुन्, कुन हुन् पराई ?
के बुझ्न सक्थेँ जडबात मैले ?
देखाउँछन् नाटक नै सबैले । ३
तेरो र मेरो यति हो भएको
आफ्नो बिरानो बिचमा रहेको
भन्छन् सबै नाटक मञ्च माझ
विश्वास गर्ने कसरी म आज । ३
खुँडा र भाला, खुकुरी, कटारी
चुप्पी छुरी बन्दुक सान हाली
गर्छन् कुरा साधु बनी बिराला
के बुझ्नु मैले कति छन् निराला ? ४
ठुलो र सानो, उच–नीचलाई
साथी–सँगी, पात्र–कुपात्रलाई
देशी–विदेशी, सब तत्वलाई
बुझिन्न यो नाटक–मञ्चलाई । ५
कैले खुसी, रोष र दुःख कैले
कैले हुरी, स्याँठ र हुन्डरीले
फैलाउँदो वञ्चक चाललाई
के बुझ्नु यो नाटक–मञ्चलाई ? ६
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक