जित्नेहरूका कथा : त्रिलोचन आचार्य ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १२।
मान्छेको यदि लक्ष्य हो जित भने विश्वास रोप्ने गरोस्
फाली दुष्कर राग व्देष मनका उत्साह मात्रै छरोस्
भेट्ने छौ जित यैँ नमाग पर गै माटो सधैँ भन्दछ
हिँड्ने जीवन हो यतै हिँड सखे बाटो सधैँ भन्दछ ।
रोजै भन्दछ लुम्बिनी जित छ है छाती बनाऊ सफा
जित्छन् फूलहरू वसन्त ऋतुमा फालेर सारा व्यथा
देखेँ सक्दछ चित्त चोर्न जगको गोधूलि सन्ध्या खुली
योद्धा जित्दछ स्वाभिमान रहँदै मर्नेछु भन्ने भुली ।
कैल्यै रोकिनु हुन्न भन्छ युगले जित्दैछ दौडेर नै
जित्छन् खेत पुगी किसान जनले कर्तव्यको युद्धमै
भाग्ने भित्र हुँदै हुँदैन कहिल्यै जित्नेहरूको छवी
आस्थाको जितमा रमेर कविता लेख्दैछ यौटा कवि ।
घण्टा मन्दिरबाट भन्छ यसरी बज्दै म जित्दै छु है
अग्लो स्वच्छ हिमाल भन्दछ सधैँ उठ्दै म जित्दै छु है
भन्ने गर्दछ गण्डकी तलतलै झर्दै म जित्दै छु है
भन्ने गर्दछ घाट लाश यसरी कुर्दै म जित्दै छु है ।
जागी उठ्नु छ यैँ भने समयमै उठ्नेहरू जित्दछन्
मेरो भाग्य भनेर हुन्न श्रममा जुट्नेहरू जित्दछन्
सिङ्गै सृष्टि रहेछ पाठ मनले पढ्नेहरू जित्दछन्
तान्दै यो युगको लगाम पथमा बढ्नेहरू जित्दछन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक