अख्तियारको एक्सनले बुढानिलकण्ठ नगरपालिकामा कम्पन

अख्तियारको एक्सनले बुढानिलकण्ठ नगरपालिकामा कम्पन

कपन अनलाइन

काठमाण्डौ ,साउन २४।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगको एक्सनले बुढानिलकण्ठ नगरपालिकामा कम्पन सृजना भएको छ। साउन २२ गते नगरपालिकाको प्राविधिक शाखामा कार्यरत सब इन्जिनियर बिनोद कुमार पौडेललाई आयोगको टोलीले पक्राउ गर संगै यसले नगरपालिकाका कर्माचारीहरुमा कम्पन सृजना भएको हो।

सुशासनलाई आफ्नो मुख्य मन्त्र बताउने नगर प्रमुख उद्दव खरेलको सपना र केहि दिन अगाडी सुशासन समितिको बैठकमा कर्मचारीहरुको कार्यसम्पादन र आचरणका वारेमा निकै प्रसंशा गरेका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीको विस्वासमा पानी खन्याउदै लामो समय देखि कार्यरत कर्मचारी पक्राउ परेपछि यसले बहुआयामिक बहस सृजना गरेको छ।

प्रमुख प्रसाशाकीय अधिकृत,इन्जिनियर र सब इन्जिनियर घुस रकम सहित अख्तियारको अपरेसनमा रंगेहात पक्राउ परेको बुढानिलकण्ठ नगरपालिकाका कर्मचारीहरुको आचरण, नियत र कार्यशैली  पछिल्लो घटनाले उदांगो भएको छ।

नक्शा,जग्गा विकास,योजना,स्वास्थ्य,स्टोर र राजस्व जस्ता महत्वपूर्ण शाखाहरुमा सिन्डिकेट खडा गरेर भ्रस्टाचारको संजाल बनाएका बुढानिलकण्ठ नगरपालिकाका कर्मचारीहरुको इज्जतमा पटक पटक कालो पोतिए पनि नानी देखिको बानी भने झैँ अझै पनि स्थिति उस्तै छ भन्ने कुरा सब इन्जिनियर पक्राउ परे संगै छर्लंग भएको छ।

पटक पटक फाइल हराउने समस्याले आजित उपभोक्ता समितिहरु,नगद सहित कर्मचारीका ब्यक्तिगत शौख पुरा गर्दा गर्दा हैरान बनेका ठेकेदारहरु,विभिन्न नेताहरु र कर्मचारीहरुको कन्सल्टेन्सीमा मात्र नक्शा बनाउनु पर्ने बाध्यताले ठगिएका नगरवासी, रोकड़ाको रस चाखेर प्राकृतिक दोहनको अनुमति दिनेहरुको खुल्ला नृत्यको मजा लिइरहेका निरिह नागरिक समाजहरुको पिडा र व्यथा सुन्ने हो भने कर्मचारीहरुका धेरै काण्ड सिनेमाको रिलमा झैँ सरर घुमिरहेको देखिन्छ।

जनप्रतिनिधि ५ वर्ष तर हामी त ६० वर्ष भन्दै खुलेआम फुर्ति लाउने बुढानिलकण्ठ नगरपालिकाका कर्मचारीहरु जनप्रतिनिधिहरु संग अव केवल ७ महिना ६  दिन मात्र समय बाकि हुँदा सर्लक्कै फेरिएको महसुस गरेका जनप्रतिनिधिहरुले पनि सुशासन कायम गर्न असफल बन्दा सारा नगरवासी शिर निहुराएर हिडन बाध्य बनेका छन।

चार वर्ष सम्म चुपचाप केहि योजनाहरुमा चित्त बुझाएको प्रतिपक्षी,प्रभावकारी बन्न नसकेको सार्वजनिक लेखा समिती,कर्मचारीहरु सरुवा,केहि बैठक र अनुगमनमा सिमित बनेको सुशासन समिती र अलिकति जोखिम मोलेर कर्मचारीहरुको सिन्डिकेट तोडन नसकेको राजनीतिक नेतृत्वले तत्काल एक्सन लिनुपर्ने माग अहिले नगरपालिकामा उठिरहेको छ।

करिव ४ दशक देखि राजनीतिक र सामाजिक जीवनमा सक्रिय रहेका नगरपालिका प्रमुख उद्दव खरेलका सामु  पनि अहिले निकै ठुलो नैतिक दवाव सिर्जना भएको देखिन्छ। भ्रस्ट कर्मचारी र प्रवृतिका वारेमा खुल्ला आलोचना गर्दै आएका खरेलको एक्सनको व्यग्र प्रतिक्षामा बसेका नगरवासीहरुको मागलाई उनले कसरी संबोधन गर्लान भन्ने चासो पनि अहिले निकै बढेको छ।

के नगर प्रमुख उद्दव खरेलले नगरपालिकाका कर्मचारी र अन्य सबै सरोकारवालाहरुले गरेको जनतालाई दुख दिने कुकृत्य र भ्रस्टाचारका वारेमा सम्बन्धित निकायलाई खुल्ला छानविनको आव्हान गर्लान ? यो प्रश्न पनि अहिले नगरपालिकाका हरेक चोक चोकमा उठिरहेको छ।

नागहर प्रमुख उद्दव खरेल संग यसरी खुल्ला आव्हान गरेर पूर्ण छानविन गर्ने वातावारण मिलाउन पूर्ण नैतिक बल भएको बताउदै एक बुद्दिजिविले कर्मचारीका काण्ड भरिएको फाइल बोकेर अख्तियार धाउने नगर प्रमुख बन्ने आट गर्नुपर्ने धारणा राखेका छन।

कुनै ठाउमा गएर परिचय दिंदा पनि त्यहि घुस खाएर कर्मचारी पक्राउ परेको नगरपालिका हैन ? भन्ने कर्कस प्रश्नले पिडा दिने गरेको बताउदै उनले यस्ता गलत कार्यमा संलग्न पात्र, प्रवृति र परिस्थितिको अन्त्यको कामना हरेक नगरवासीले गरिरहेको विचार ब्यक्त गरेका छन ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।