राम सरको चश्मा : माधब कल्पित ( संस्मरण )

कपन अनलाइन

काठमाण्डौ,साउन १६ ।

हतारमा बिर्सिएर हो या आप्नो चिनो छाडेर जान इच्छा भएरै हो । रामप्रसाद उपाध्यायले झापा नाटकघरमा एउटा हरियो बट्टाभित्र पावरवाला चश्मा छाडेर जानुभएको छ । त्यो चश्मा नाटक घरभित्र अहिले पनि सुरक्षित छ । कसैलाई पठाइ दिउँ ? भनेर सम्पर्क गर्दा हैन– हैन म आफैँ आँउछु । यो उहाँको आफै आँउछु भन्ने शब्दले गर्दा कसैलाई पठाउन पनि सकिएन ।

पहिले– पहिले दिनदिनै फोन गरेर नाटक घरको उन्नति र प्रगति बारे बुझिरहने राम सर, चश्मा छाडेर गएको दिनदेखि किन हो फोन सम्म गर्नुहुन्न । गरेको फोन समेत उठेन । यसपछि मनमा अनेक थरि शंका र उप–शंकाले पिरोलिरहेको छ । यो राम सर को नासो ! नाटक घरमा छाडेको चश्मा फुट्ने, टुट्ने, हराउने र स–कुशल बुझाउन नसकिने हो कि ? भन्ने भय र त्रासले मलाई दिन– दिनै पोल्न थाले पछि मैले यो राम सरको चश्मालाई सार्वजनिक गर्न बाध्य भएको छु । तपाईँ प्रत्यक्षदर्शी, पाठक वा श्रोता जो – जस्ले जहाँ भेटे पनि यो खबर सुनाइदिनु हुनेमा म पूर्ण आशावादी छु ।
चश्मा कसरी छुट्यो त ? सबैको जिज्ञासा हुन सक्छ ! २०७८ साल बैशाख– १५ गते –१ बजे मेरो मोबाइल मा घन्टी बज्यो । मैले फोन उठाएर हेरेँ एकघण्टा अघि मात्रै झापा नाटक घरबाट बिदा भएर पाँचथर प्रस्थान गर्नुभएको क्षितिज नाट्य समुहका संस्थापक संरक्षक रामप्रसाद उपाध्याय को फोन थियो । उहाँ नातामा मेरो भिनाजु पनि हो ।

मैले फोन उँठाउदै गर्दा उहाँ को आवाज कानमा पर्यो  । ‘माधव बाबु मैले त्यहाँ एउटा चश्मा छाडे ? हेर्नु ! हेर्नु !’ मैले उत्तर दिए ‘हो र भिनाजु ! एकछिन् पख्नोस् है ।’ म कानको मोबाइल कानैमा राखेर नाटक घरको भित्री सभाहलमा छिरे । अघि हामीले बसेर भलाकुसारी गरेको टेवल नजिक पुगे हामीले सँगै बसेर पिइएका ग्रिन टिका ग्लासहरु त्यहाँबाट उठाएकै थिएनन् ।

मैले यता उति खोजे उहाँ बसेको कुर्सी अगाडिको टेवलमा निलो खोल भएको एउटा चश्मा देखेँ । भिनाजु चश्मा यहि छुटेको रहेछ । कहाँ पुग्नु भो ? हामी बुधबारे काट्यौ । मैले अलिकति आश्चार्य मान्दै भने ‘अब के गरौ तपाईंको चश्मा ?’ ‘माधब बाबु मेरो त अब आँखै बन्द हुने भयो । हतारमा भुसुक्कै बिर्सिएछ ।’ उहाँको आवाज मेरो कानमा ठोकियो । ‘के गरौँ त फडिन्द्र ज्वाइँलाई म हात लगाई दिउँ ?’ मैले भने । ‘हैन–हैन पर्दैन । त्यो मेरो नाटक घर आउने माध्यम पनि हो ।

म एक महिना पछि आफैँ आउँछु । त्यो साँझ नाटक घरमै बसेर भव्य साहित्यिक कार्यक्रम गर्नुपर्छ । तपाईँले सुरक्षित राखि दिनु । आज पनि बस्ने रहर थियो । भोलि देखिको लकडाउन भन्ने सुनेर दौडनु परिगो । हुन्छ भिनाजु, चिन्ता नलिनु । म हजुरको चश्मा सुरक्षित राख्ने छु ।’ तपाई ढुक्क भएर जानु । पछि आउदा लिनु । यो नाटक घरमै सुरक्षित हुने छ । मैले निर्धक्क भएर जिम्मेवारी लिएँ । तर खै, किन हो आज भोलि मैले उहाँलाई दिएको वचन र जिम्मेवारीले दिनरात पोलिरहेको छ । प्रेम विवाहमा बाँधिएर कसैको साथ र साहारा खोज्दै जाँदा मलाई पहिलोपटक कञ्चनजंङ्गा टि स्टेटमा रोजगारीको व्यवस्था मिलाइ दिने तत्कालीन टि स्टेटका मेनेजर रामप्रसाद उपाध्याय ।

चिया फ्याक्ट्रीमा काम गर्न नसकेपछि छाडेर हिड्न लाग्दै गर्दा फिदिम बजारको तत्कालिन बस स्टेण्ड लाइनमा निर्माणाधीन आफ्नो घरको एउटा कोठा उपलब्ध गराई पाँचयस रुपैयाँको लगानीमा आफू सबै सामु जवानी बसी सामान उपलब्ध गराउँदै व्यवसायको जग बसाएर गरि खाने बाटो देखाउदै मेरो आँखा खोलिदिने राम सर ! व्यवसायको उन्नति, प्रगतिले गाँस, बास र कपासको अभाव टार्न सक्ने भएपछि बाल्यकालदेखिको मेरो कला साहित्य र सिर्जनामार्फत समाज रुपान्तरणको सपना साकार पार्न २०५८ साल आषाढ ११ गते मेची अञ्चल युवा प्रतिभाहरूको भेलाद्वारा मेरै अध्यक्षतामा क्षितिज नाट्य समूहलाई जन्म दिई आफ्नै घरको एउटा कोठा दुई –दुई वर्षसम्म निःशुल्क उपलब्ध गराई मलाई रंङ्ग साहित्यको क्षेत्रमा बाटो देखाउदैँ हौशला र प्रेरणा प्रदान गर्ने राम सर ! नाट्य समूहको प्रमुख संरक्षक रुपमा आफू रहेर पाँचथरका दर्जनौँ युवा प्रतिभाहरुमा उर्जा भर्ने राम सर ! क्षितिज नाट्य समूहले पाँचथरका तत्कालीन ४१ वटै गाविसहरुमा सचेतनामूलक नाटक मञ्चन गर्दा होस् या २०५९ सालमा धरानमा आयोजित पूर्वाञ्चल नाट्य महोत्सव अथवा २०६४ सालमा आरोहण गुरुकूलले राजधानीमा आयोजना गरेको आरोहण राष्ट्रिय नाट्य महोत्सवसम्म पुगेर मेरो लेखन निर्देशनमा आधारित नाटक ‘परिणाम’ मा मुख्य भूमिका निर्वाह गर्दै नाट्य समुहको छहारी बनी हामी युवा प्रतिभाहरुलाई सधैँ हौसला र प्रेरणा प्रदान गर्ने आदरणीय मेरा प्रेरणाका स्रोत नाट्य समुहका संस्थापक संरक्षक, नौलो साहित्यिक बिहान पाँचथरका अध्यक्ष नाटककार तथा साहित्यकार आदरणीय रामप्रसाद उपाध्यायज्यूको अतुलनीय योगदान र मार्गदर्शनलाई नाटक घरमा छुटेको यो चश्माले आज अतीतदेखि वर्तमानसम्म स्मरण गरायो ।

आफ्नो घरको सानो कोठामा जन्मिएको आठबर्षे रंङ्गमञ्चको शिशुलाई पाँचथरको माटोमा हुर्काएर राष्ट्र सामु आफ्नो पहिचान पस्कन सक्ने भए पश्चात जन्मभूमिबाट कर्मको मझेरी झापा झर्दासम्म आँखा खोली खोली पाइला पाइलामा सचेतनाको चश्मा भिराइदिने राम सर आज चश्माबिहीन हुनुभएको छ । अरुलाई सधैँ ज्योति छरेर आँखा देखाउने ब्यक्ति आज जाबो एउटा चश्मा छुटेकै कारण नेत्रबिहीन हुने डरले मेरो होस हवास हरायो ।

जतिबेला म आँखा भएर पनि देख्न सकिरहेको थिइन त्यतिबेला मलाई हिड्न सिकाउने शिक्षाका ज्योति प्रेरणाका श्रोत राम सर । आफूले बाटो देखाएको मान्छे र आफैँले जन्माएको नाट्य समूहले सबै जातजाति तथा भाषाभाषीको सामुहिक अपनत्व कायम हुनेगरि प्रदेश नम्बर १ कै ऐतिहासिक धरोहरका रुपमा झापाको नगरी बिर्तामोडमा बन्दै गरेको बहुजाती, बहुभाषी बहु–साँस्कृतिक संग्रहालयसहितको ‘झापा नाटक घर’ देखेर त्यो दिन हर्षका आँसु झार्नु भएको थियो ।

आँखाबाट झरेका ती मोतीका दानालाई सम्माल्न सायद उहाँले त्यो लगाएको चश्मा खोल्नु भएको थियो । आफू समर्पित भएर आफ्नै काखमा जन्माएको सन्तानले प्रगतिको शिखर चुम्दैगर्दा खुशीले कसको पो आँखा रसाउन्नर ? नाटक घरको वरिपरि एक पटक घुमेर प्रेक्षालयमा बस्दै गर्दा भन्नुभएको थियो ।

‘माधव बाबू यो संस्था जन्मिएको दिन मैले आजको दिनसम्म आइपुग्ला भन्ने सोचेकै थिइन, यो तपाईंको अथक प्रयास र प्रयत्न को प्रतिफल हो । मलाई आफूले जन्माएको समुहको आफ्नै भवनमा पाइला राख्न पाउँदा हर्षको सीमा नै रहेन ।’ हामी दुवैका आँखा रसाएका थिए । मैले आफूलाई सम्हाल्न माक्स मात्र खोलेँ । उहाँले त चश्मा नै खोल्नु भएछ । यसरी आँखाबाट खोलिएको राम सर को चश्मा र एक घण्टापछि फोन सम्पर्कमा मैले उहाँलाई सकुशल बुझाउन दिएको वचन अब कहिल्यै पूरा नहुने भए पछि मेरो मन मुटु पल–पल रोइरहेको छ । चश्मा छाडेर गएको एक महिनापछि एक पटक हाम्रो फोन सम्पर्क भएको थियो ।

कोरोना लगायतका धेरै रोगबाट बच्न नरहरिबुटीको चर्चा–परिचर्चा सामाजिक सञ्जालमा प्रेमकैदी मार्फत निकै चलेको थियो । मैले नाटक घरमा नरहरिबुटी भेटेर सामाजिक सञ्जालमा पोस्ट गरेको थिए । त्यसको केही दिन पछाडि राम सरले पनि फिदिम आप्नो घर छेवैमा नरहरिबुटी भेट्नु भएछ । मलाई खुशी हुँदै फोन गर्नु भो ‘माधब बाबू मैले पनि भेटेँ है नरहरिबुटी अब कोरोनाबाट नमरिने भो ।’ बडो खुसी व्यक्त गर्दै फोन गर्नुभएको थियो । त्यो दिन पनि हाम्रो लामो भलाकुसारी भयो । स्थिति सहज भएपछि पाँचथरका सबै श्रष्टाहरुलाई लिएर झापा झर्ने पाँचथर र झापाका प्रतिभाहरु मिलेर झापा नाटक घरमा एउटा भव्य साहित्यिक कार्यक्रम गर्ने ।

आफ्नो छुटेको चश्मा त्यसै बेला लगाएर नाटक घरलाई नियाल्ने त्यो राम सर को सोच र सपना रहेछ । पाँचथरको नौलो साहित्यिक बिहान, पाँचथरकै क्षितिजका संस्थापक कलाकार र झापाली प्रतिभाहरुका बीच झापा नाटक घरमा भब्य कार्यक्रम हुने अवसर राम सरको चश्माले जुराउने भयो भन्ने सोचेर म पनि निकै दंङ्ग परेको थिए । त्यसको एक हप्ता बित्न नपाउँदै श्रीराम इट्टा उद्योगका प्रबन्ध निर्देशक बिर्तामोड –२ निवासी राम सर कै साइँलो ज्वाइँ फडिन्द्र तिम्सिनाज्यूको मलाई फोन आयो ।

‘बुबालाई कोरोना भएछ । छातीमा सामान्य समस्या देखियो । बिर्तासिटीमा राखेको छ । माधब बाबूलाई थाहा दिनु है भन्दै हुनु हुन्छ ।’ फडिन्द्र तिम्सिनाज्यूले मलाई उहाँको सन्देश सुनाउनु भो । मैले स्वास्थ्य स्थितिको बारेमा बुझे । स्थिति सामान्य रहेको, बोल्दै खाँदै गरेको उहाँले बताउनु भयो । किन– किन फोन राखेपछि मेरो मनमा चिसो पस्यो पाँचथरको एउटा साहित्यिक गोष्ठीमा राम सरले वाचन गरेको एउटा गजलको याद आयो । भिडियो खोलेर हेरेँ । उहाँ आफैले निर्ढुक्क हुँदै वाचन गर्नु भएको थियो ।
‘कोरोना हो कि काल चिन्न मुश्किल छ । अस्पताल पुगे पछि मान्छे घर हो कि घाट फिर्न मुश्किल छ ! ‘दोश्रो लहरको कोरोनाले पाँचथरमा पु¥याएको सबै भन्दा ठुलो मानवीय क्षति, राम सरको कविता, र मेरोमनको शंका ! हे भगवान ! मेरो मनले जे सोच्दैछ त्यो मिथ्या होस । मैले मनलाई मन–मनै बुझाउन खोजेँ । तर मनको चिसो मनैमा रहयो ।

भोलिपल्ट १०बजे बिर्तासिटी जान लाग्दै गर्दा झापा नाटक घर निर्माण व्यवस्थापन समिति संयोजक आदरणीय ज्ञानुराम प्रसाईज्युको सडक दुर्घटना र दुर्घटना भएको केहीबेरमै भद्रपुर अस्पतालमा भएको अकल्पनीय निधनको खबरले सबै होसहवास नै उडायो । मन मस्तिष्कले पत्याउन सकेन । हातमा बोकेको मोबाइल हातैबाट झ¥यो । घन्टौंसम्म हातले टिप्न सकेन । सोहि दिन ४ः३० बजे शवयात्रा सुरु हुने भएछ हरिप्रसाद भण्डारी र राजु खरेल सरले मलाई गाडीमा हालेर कनकाइ पु¥याउनु भएछ । कोराना संक्रमणको यो विषम परिस्थितिमा पनि हजारौको जनसागर ! गाडी पार्किङ गर्ने ठाउँसम्म छैन । राजु सरले भन्दै गरेको याद छ ।

मैले चर्को घाम र पीडाको त्यो क्षणमा सबै शून्य शून्य मात्रै देखेँ । कसैलाई देखिँन । २ घन्टा अघिमात्र ज्ञानु सरले फोन गरेर भोलि बिहान तपाईंको घरमा बैठक बोलाउनु है माधब जी, म ७ः०० बजे नै आइपुग्छु भनेको शब्द मात्रै मेरो मानसपटलमा गुञ्जिरह्यो । कनकाइपूर्व पिपबोट चौतारोमा केही क्षण बसेको याद छ । स्थिति अलि असहज भए पश्चात् राजु सरले मलाई त्यहाँबाट उठाएर घर ल्याउनु भएछ । छोरी समीक्षाले अफिसबाट आएर मेरो प्रेसर चेक गरिन्, बि पि बढेर १६०/११० पुगेछ मैले त्यस रात अरु केही थाहा पाइँन ।

ज्ञानु सरकै शोकमा त्यो रात बित्यो । मैले यस अघि वहाँको योगदान र समर्पणलाई ‘झापाली रंङ्ग साहित्यमा ज्ञानुराम प्रसाई’ शीर्षकको लेखमार्फत सबै खुलाइसकेको छु । जुन प्रकाशित नै भै सकेको छ ।

भोलिपल्ट बिहान ४ः३० बजे म ओछ्यानबाट उठ्न लाग्दै गर्दा नम्बर सेफ नभएको एक अपरिचित व्यक्तिको फोन आयो । ‘माधव सर फडिन्द्रजीलाई फोन गर्नु त राम सरको अवस्था त चिन्ताजनक पो छ अरे त ।’ मैले केही नभनी फोन राखेँ । फेरि मलाई नाट्य समुहका संस्थापक केन्द्रीय सदस्य शिक्षासेवी भेषराज निरौलाज्युले इलामबाट फोन गर्दै सोध्नु भयो । ‘भाइ राम सरको बारेमा केही सुन्नु भो ?’ छैन दाइ अब बुझ्छु है मैले फोन काटेँ ।

हतार हतार फडिन्द्रजीलाई फोन गरेँ । मलाई एकैचोटी हजारौं बिच्छीले टोके झैँ भयो । मैले केही बोल्न सकिन । पीडामाथि पिडा थपिए पछि न आँसु न हाँसो मान्छे त्यसै शून्य हुँदो रहेछ । हतारहतार तयार भएर राजन ज्वाइँको साथमा म बिर्तासिटी अस्पताल पुगेँ । कोरोना वार्ड सोध्दै म दोश्रो तल्ला उक्लिएँ । म कुनै पर्वाह नगरी कोरोना उपाचार कक्षमा प्रवेश गरे ढोका नजिकै मेरा परिचित आफन्तहरु रोहिरहेका थिए । मलाई उनीहरुको रोदन र आँसुले छेकेन म सरासर अघि बढेँ ।

मलाई त केवल राम सरलाई भेटेर त्यो चश्मा बुझाउनु थियो । म राम सरलाई खोज्दै त्यो चश्मा बुझाउन अघि बढेँ । राम सर सुतेको बेडको छेवैमा पुगेर भने राम सर यो तपाईंको चश्मा । मैले वचन पूरा गरे नि हेर्नहोस्त ? मैले चश्मा बोकेको हात राम सर नजिक पु¥याएँ । राम सरका आँखाले एकोहोरो भएर मलाई हेरिरहे तर हातले चश्मा समाउन मानेनन् ।

म निःशब्द भएँ ! मैले त्यो राम सर को चश्मा कसैलाई बुझाउन सकिन । अघि संम्म मैले ग्रामको वजनमा बोकेर गएको चश्मा एकाएक कुइटलको जस्तो गह्रो भान भयो । म त्यहाँ धेरै बेर बस्न सकिन । फेरि पनि नाटक घरकै एउटा कुनामा ल्याएर थन्क्याउन म विवश भएँ । जन्मदाता मातापिताको वियोगमा बाहेक अहिलेसम्म सायद आँखाबाट यति धेरै आँशु झरेकोे थिएन । आज नाट्य समुहका दुई मुर्धन्य हस्तिहरुको वियोगले यो मन रोएको छ ।

भौतिक शरीर ढलेर गएपनि योद्बाहरुका आस्था बिश्वास र सपना अबश्य एक दिन पूरा हुनेछन् । राम सरले देखाएको बाटो र छाडेको चश्मा तपाईंँको नासो चिरकालसम्म झापा नाटक घरको संग्रहालयभित्र सुरक्षित रहनेछ । ती कु –बाटोमा लागेर हिड्न खोज्नेहरुलाइ समेत तपाईंको चश्माले सु–मार्ग प्रदान गर्न सकोस् । रङ्ग यात्राका क्रममा तपाईंँहरुसँग स्टेजमा भेट भयो संगै रहेर आआप्नो भूमिका निर्वाह गर्दैजाँदा अभिनयले पूर्णता नपाउँदै बिधाताले तपाईंहरुको दृश्यमा पर्दा लगाइ दियो । संस्थाका अमूल्य बिभूति स्व. रामप्रसाद उपाध्याय र स्व. ज्ञानुराम प्रसाइप्रति यिनै शब्दरुपी गुच्छाहरुद्वारा श्रद्धाञ्जली अर्पण गर्दै बिदा चाहन्छु । तपाईंहरुको बैकुण्ठमा होइन यसै धराधाममा पुनर्जन्म होस् ! म भगवान्सँग यहि प्रार्थना गर्दछु ! अल बिदा राम सर ! अल बिदा ज्ञानु दाइ !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।