भाग्योदय क्याम्पस साँखु संचालनको जिम्मेवारी शंखरापुर नगरपालिकाले लियो

भाग्योदय क्याम्पस साँखु संचालनको जिम्मेवारी शंखरापुर नगरपालिकाले लियो

कपन अनलाइन

काठमाडौं ,असार ९ । शंखरापुर नगरपालिकाले साँखुको भाग्योदय क्याम्पस संचालन गर्ने भएको छ । असार २ गते नगरपालिकामा एक कार्यक्रमका बीच  उक्त  क्याम्पस  हस्तान्तरणको लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । उक्त सम्झौता पत्रमा नगरपालिकाको तर्फ बाट नगर प्रमुख सुवर्ण श्रेष्ठले हस्ताक्षर गरेका थिए भने क्याम्पसको तर्फ बाट व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र मल्लले हस्ताक्षर गरेका थिए।

उक्त कार्यक्रममा नगरपालिकाकि उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लेख नाथ न्यौपाने, वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उप सचिव बौध राज निरौला, त्यसै गरि क्याम्पस सञ्चालक समितिका कार्य बाहक अध्यक्ष दुर्गा प्रसाद मल्ल, उपाध्यक्ष गोबिन्द  प्रसाद श्रेष्ठ र निमित्त क्याम्पस प्रमुख बिरेन्द्रप्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।भाग्योदय क्याम्पस शंखरापुर नगरपालिकाको पुरानो क्याम्पस हो सर्वसुलभ तरिकाबाट उच्च शिक्षा प्रदान गर्ने उदेश्य सहित  शिक्षाप्रेमी तथा समाजसेवी जोगमेहेर श्रेष्ठको अगुवाइमा बि. सं. २०५९ सालमा यस क्याम्पसको स्थापना भई सञ्चालन हुदै आएको थियो ।

 समयसापेक्ष नयाँ संकायहरु थप गर्दै दक्ष जनशक्ति उत्पादन गरि राष्ट्र निर्माणमा टेवा पु¥याउने हेतुले तत्कालीन सञ्चालक समितिले जनस्तरमा विभिन्न चरणमा छलफल कार्यक्रम सञ्चालन गरि सो  भेगका सम्पूर्ण सरोकारवालाहरुको संलग्नतामा क्याम्पसबाट प्रदान गरिदैं आएको उच्च शिक्षाको क्षेत्र बृहत तथा गुणस्तरीय शिक्षालाई निरन्तरता दिनका लागि मिति २०७६ कार्तिक ६ गतेको सञ्चालक समितिको बैठकले क्याप्स शंखरापुर नगरपालिकालाई हस्तान्तरण गर्ने  निर्णय गरेको थियो । हस्तान्तरण प्रक्रिया कोभिड १९ महामारीका कारण ढिला भएको हो । हस्तान्तरण पश्चात् भाग्योदय क्याम्पस सञ्चालन सम्बन्धि कार्यबिधि २०७८ अनुसार क्याम्पसको सञ्चालन तथा ब्यवस्थापन हुनेछ।

तपाइँको प्रतिक्रिया ।