ऐले घरै फर्किनू : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १।
घाती राक्षस तेर्सिएछ पथमा, साथी नआऊ यता
धोका हो मुख खोल्नु यो समयमा, ढोका म खोलौँ कता ?
लाटो ठान्छ समाजले किन तिमी बाटोतिरै आउनू ?
मैले के अब भन्नु पर्छ र सखे, ऐले घरै फर्किनू ।
धर्ती नै जब घाइते गरिसक्यो यो काइतेले भने –
मेरो छैन हुती भन्यो भनिसक्यो त्यो माहुतेले भने –
जैले खुल्छ प्रभात खात मनको बाँड्छौँ बसी पर्खनू
पाऊँ माफ, जवाफ यो अप्रिय भो, ऐले घरै फर्किनू।
अड्डा बन्द छ काम काज नगरी बस्छन् घरै सम्झनू
भेटे मानिस तर्किएर दुनियाँ पुग्छन् परै सम्झनू
टाढा बात त फोनमै छ बहुतै गाढा कसोरी हुनू ?
दैलो खोल्न सकिन्न भो प्रिय भयो, ऐले घरै फर्किनू ।
तातो धड्कन आउँला कि यसले बाटो तताएपछि
पेलाहा अब जेलमा परिसक्यो भन्ने बताएपछि
धर्ती फोहर यो छ फुर्ति बहुतै गर्दै कहाँ चम्कनू ?
जैले खुल्दछ भेट्छु मै प्रिय भयो, ऐले घरै फर्किनू ।
मेरो ख्याल गरेर आउँछु भन्यौ आभार टक्य्राउँछु
सम्झ्यौ मित्र थियौ र पो निकट भै, यस्तो कहाँ पाउँछु –
मेरो आँट चलेन ठाँट गरिए, पर्ला कि सुर्ताउनु ?
बेला चिन्नु परन्तु भन्नु नपरोस्, ऐले घरै फर्किनू ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक