काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप दुई साता थप्ने निर्णय

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २८।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप दुई साता थप्ने निर्णय भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब हुने निषेधाज्ञामा अत्यावश्यक बाहेकका कार्यालय समेत बन्द गरिने छ।होटल र पार्टी प्यालेसमा हुने विवाहमा पनि रोक लगाइएको पराजुलीले बताए।‘होटल, पार्टी प्यालेसमा भइरहेका बिहे अब रोक्ने निर्णय भएको छ,’ पराजुलीले भने।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाको दायरा फराकिलो पार्ने निर्णय गरेको हो।

पराजुलीका अनुसार अत्यावश्यक सामग्री खरिदमा भीडभाड भएकाले बिहान १० बजेसम्म खुला गरिने भएको छ। यसअघि ९ बजेसम्म मात्र खुला गर्न दिइएको थियो।

यस्तै, अत्यावश्यक बाहेक कामका सरकारी तथा अन्य कार्यालयहरू पनि बन्द गर्ने निर्णय गरिएको पराजुलीले बताए।

यस्तै, राष्ट्रिय महत्वका विकास आयोजना बाहेकका सबै विकास निर्माणसँग सम्बन्धित काम पनि बन्द गरिने छन्। त्यस्ता काममा आवासीय रूपमा खटिएर काम गर्नेलाई मात्र छुट दिइने पराजुलीले बताएका छन ।

काठमाडौं उपत्यकामा यसअघि जारी दुई साताको निषेधाज्ञा समय बुधबार राति १२ बजे सकिँदैछ।त्यसको पूर्वसन्ध्यामा सिडिओहरूको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय लिएको हो।

तपाइँको प्रतिक्रिया ।