रत्नपार्ककी दिदीलाई चिठी : धर्मानन्द भट्ट (कविता )

कपन अनलाइन

काठमाडौं ,फागुन ८ ।

छोटा वस्त्र लगाउँछौ लुकिलुकी डिस्कोहरू धाउँछौ
केटा साथलिएर गीतजहिल्यै उत्ताउला गाउँछौ ।
खाई पान, पराग, जाँड रमिता गर्छौ रमाईकन
छाती पूर्ण फुकाउँदै किनदिदी रातौँ थुपार्छौ धन? ।।१।।

श्रीमान् जान्छ विदेशमा गगनको बाटो समातीकन
एक्लै रुन्छ त्यहाँ हरेक रजनी निस्सारको जीवन ।
सानो जागिर खान्छ दिन्छ महिनौँ तिर्नू भनेरै ऋण
तिर्दैनौ अझअन्त नै मन दिँदै डुल्छौ खुसी भै किन? ।।२।।

खान्छौ साँझबिहान मासुसँग नै रोटी तथा भात र
भन्छौ सानसँगै जिऊँ म जहिले यो जिन्दगी के छ र ।
आफ्नो खेत खनाउँछौ अरुसँगै बेर्नाहरू रोप्दछौ
आफ्नो नै बदनाम हुन्छ कहिल्यै गम्भीर भै सोच्दछौ ? ।।३।।

फुल्दो यौवनको सुवास सजिलै बाँड्ने कुरा हैन है
बाँड्दा इज्जत सान, मानपदवीकाँहीकतै छैन है ।
सोच्नू जीवन हैन भित्रिमनले व्यापारका खातिर
के नै गुम्दछ सुम्पिँदा नभन है होचिन्छ आफ्नै शिर ।।४।।

देख्दामा खुब सुन्दरी नबन है श्रृङ्गार सोह्रै भिरी
बन्दैनौ त्यसरी सबै मनुजको सेताम्य आहागिरि ।
गिर्छौ सज्जन नेत्रबाट जहिले हिँड्दा नराम्रो पथ
बाँची सानसँगै सबै नजरमा हाँसी गुडाऊ रथ ।।५।।

हिँड्नैपर्छ समाजमा बुझ दिदी पक्काबनी सारथि
राम्राकर्म र धर्म गर्न मनले गाई मिठो आरती ।
सोच्नैपर्छ दिदी म एक पलको आनन्दमा डुब्दिनँ
सारा सुम्पिन रत्नपार्कतिरको यो रोडमा लुक्दिनँ ।।६।।

सहकार्य :क्पान बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।