काठमाडौं महानगरपालिका वडा नं ४ मा मनमोहन पार्क शिलान्यास
कपन अनलाइन
काठमाडौं माघ ५ । काठमाडौं महानगरपालिका वडा नं ४ कृष्ण गल्ली नयाँ कोलनीमा मनमोहन पार्क निर्माण हुने भएको छ। उपयोगमा नआएको सार्वजनिक जमिन अतिक्रमण नहोस भन्ने हेतुले काठमाडौं महानगरपालिका वडा नं४ ले मन मोहन पार्क निर्माण गर्न लागेको हो ।आइतबार एक कार्यक्रमका बीच नेपाल सरकारका उप प्रधानमन्त्री इश्वर पोखरेलले उक्त निर्माण हुने पार्कमा बिरुवा रोपी पार्कको शिलान्यास गरेका हुन्। काठमाडौं महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष मोहन बहादुर बिष्टको अध्यक्षता भएको सो कार्यक्रममा बिशेष अतिथिको रुपमा संविधानसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य रत्न गुरुङ,प्रदेश सांसद तथा नेकपा केन्द्रीय सदस्य नारायण सिलवाल , प्रदेश सांसद तथा नेकपा केन्द्रीय सदस्य दीपक निरौला, प्रदेश सांसद सीता अधिकारी दाहाल, काठमाडौं महानगरपालिका प्रमुख बिद्या सुन्दर शाक्य , नेकपा केन्द्रीय सदस्य हरि अधिकारी, शिवकुमारी खनाल, बुढानीलकण्ठ नगरपालिकाका मेयर तथा नेकपा केद्रीय सदस्य उद्दब खरेल लगायत जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन काठमाडौं महानगरपालिका वडा नं ४ का वडा सदस्य धुर्ब त्रिपाठीले गरेका थिए ।
रास्ट्रीय गान संगै शुरु भएको कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ४ का वडा सदस्य दिनेश श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रम उदेश्यको बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेलले सरकार चल्ने अवस्था नभएर अफ्ट्यारो अवस्था आएकाले ताजा जनादेशमा जानुपर्ने अवस्था आएको बताएका छन् । आइतबार काठमाडौं महानगरपालिका वडा नं ४ मा निर्माण हुन् लागेको मनमोहन पार्कको शिलान्यास कार्यक्रममा बोल्दै उनले संसद विघटन गर्दै नयाँ निर्वाचनमा जाने सरकारको निर्णय बाध्यात्मक कदम भएको बताएका हुन् । उनले भने ‘सरकारको कदम ठिक छ भन्ने लाग्छ भने जनताले पुरस्कृत गर्नेछन्, अनुचित लाग्यो भने जनताले दण्डित गर्नेछन् ।’ गुरु मन्त्र भनेकै जनताकै साथ रहेको बताउँदै उनले हरेक विकासका काममा जनताको साथ र सहभागिता विना सम्भव नभएको बताए । ·
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य एबम नेकपा केन्द्रीय सदस्य नारायण सिलवालले ११ रोपनी क्षेत्रफलमा पार्क निर्माणको लागी बजेट विनियोजन गर्ने महानगरपालिकालाई धन्यवाद दिए । साना ठुला गरी दर्जनभन्दा बढी पार्क ४ नम्बर वडामा बन्दै गरेको उल्लेख गर्दै उनले सङ्घीय, प्रदेश र स्थानीय सरकारको संयुक्त पहलमा विकासका काम भइरहेको बताए । उनले भने ‘काठमाडौंको सुन्दरता पुनर्स्थापना गर्न र यसलाई बस्न लायक सहर बनाउन सरसफाइ , हरियाली अभियान र थुप्रै सानाठूला सार्वजनिक पार्क निर्माण भइरहेको छ । खुसीको कुरा, यी सबै काम आम नागरिकको बल बुताले गर्न सम्भव छ ।’ उनले भने
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै काठमाडौं महानगरपालिका प्रमुख बिद्या सुन्दर शाक्यले नेपाली काँग्रेसका युवा नेता गगन थापालाई राष्ट्रपति सँग नभई महानगरपालिकाका वडा सदस्यसँग चुनाव लडेर देखाउन चुनौती दिएका छन । थापाले केवल चर्चामा आउने उद्देश्यले जे पनि बोल्ने गरेको आरोप लगाए । काठमाडौं महानगरपालिका वडा नं ४ का सदस्य ध्रुव त्रिपाठी तर्फ सङ्केत गर्दै उनले खाली ठुलो पदमा बसेका व्यक्तिलाई गाली गरेर चर्चा कमाउने ध्यान छोडेर वडामा आएर निर्वाचन लडी विजयी बन्न चुनौती दिए । काठमाडौं महानगरपालिका र अन्य नगरपालिकामा भएका विकास र जन पक्षीय काम बाट डराएर गलत प्रचारबाजीको बाटो लिएकोमा दुख व्यक्त गर्दै उनले थापालाई जनमतको असली परीक्षणका लागि मैदानमा आउन चुनौती दिएका थिए ।
अध्यक्षताको आसन बाट बोल्दै काठमाडौं महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष मोहन बिष्टले विकास निर्माणका ९० प्रतिशत काम सम्पन्न भैसकेको दाबी गरे । स्थानीय तहको निर्वाचन भएको ४ बर्ष पुरा हुनै लाग्दा यी काम भएको दाबी गरेका हुन् । विकासका काम सफल बनाउन वडा सदस्य सहित सबै पदाधिकारीको उत्तिकै भूमिका रहेको उनले बताए । वडा नम्बर ४ मा अतिक्रमणमा रहेका सरकारी जग्गा वडा मातहत ल्याएर पार्क निर्माण तीव्र बनाइएको समेत वडाध्यक्ष विष्टले जानकारी दिए । अहिलेसम्म ७२ रोपनीभन्दा बढी सार्वजनिक जग्गा सरकारको मातहतमा ल्याई सकिएको उनले जानकारी दिए । विष्टले भने ‘अहिलेसम्म शिवस्थली २५ रोपनी, मनमोहन पार्क ११ रोपनी (कृष्ण गल्ली धुम्बाराही), बाजे (बज्यै पार्क ८ रोपनी, कपन मार्ग ६ रोपनी, धुम्बाराही हाइट ३ रोपनी, अन्नपूर्ण मार्ग ९ आना, रारा पार्क ३ रोपनी, हालको वडा कार्यालय १ रोपनी, टुसाल पार्क २ रोपनी, धुम्बाराही पार्क १२ रोपनी र डिडि पार्क ९ आना गरी जम्मा ७२ रोपनी २ आना सार्वजनिक जग्गा सरकारको मातहतमा ल्याइएको छ ।
वडा भित्रका सार्वजनिक जग्गामा विभिन्न व्यक्तिहरूले टहरो बनाएका, भाडा खाएका, भोग चलन गर्दै आएका तथा साध मिचेका व्यक्तिहरूबाट नेपाल सरकारको मातहतमा ल्याउन सफल भएका उनले बताए । कार्यक्रमका प्रमुख अतिथि बिशेष अतिथिहरुले बिरुवा रोपी पार्कको शिलान्यास गरेका थिए।कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ४ कि वडा सदस्य सरु अधिकारीले धन्यवाद ज्ञापन गरेकी थिइन्।