“लुटिएको हर्कमान” : अमर तिवारी (लघुकथा )
कपन अनलाइन
काठमाडौं पुस ४।
कोरोना कहर ढपक्कै भएको बेलामा पारिको सिमाना चौकीलाई छलेर पौडेर नेपाल आएका हर्क मान, यो उराठलाग्दो गाउँको दैनिकी सँग दिक्क मानेका छन् । पारीबाट नेपाल पस्दा कम्मरमा बाँधेको पटुकाका गाठाहरु एका एक गरी सबै फुस्किसकेका छन् भने गाउँ वरी परी “साहुजी” पनि बाक्लै बनाएको छ । “अब त म बस्नै सक्दिन” मनमनै झोकिन्छ।
बिस्तरा बाट उठेर दौडेर उ रित्तो घ्याम्पोलाई नाग्लोमा घोप्टो पार्छ अनि अगेनोको खरानी पन्छाउँदै, सोच माग्न हुन्छं, “भएन विदेश जान्छु” दृढ सङ्कल्प गर्छ । माथिको साहिलिको भट्टीको उधारो र तल्लो स्याउले को रासन को पैसो तिर्न नसकेर आजकल हर्क मान बीचको बाटो बाट बेसी आउने जाने गर्छ । तिर्न नै नसक्ने त होइन, तर तिर्दा उ पूरै नग्गिने रहेछ ।
उ फेरि अतितलाई सम्झन्छ पारीका साहुले नेपाल आउने बेलामा दिएको इनाम पनि संचय गरेर राख्न सकिन। इनाम दिने बेलामा साहुनीले फेरि आऊ है, दुई महिनाको मात्र छुट्टी हो नी, तिमी आएनौ भने मेरो काम अलपत्र हुन्छं नी, भनेको सम्झिन्छ। हुन त ६/७ महिना भयो, जाँदा त काम देला नी, आ जान्छु । हर्क मान जुरुक्क उठ्छ र त्यही बीचको बाटो हुँदै बेसी झर्छ ।
बेसी झर्दै गर्दा एकपटक आफ्नु घरलाई हेर्छ, र टोलाउछ । म कहिले नफर्किने गरी नेपाल आएको, मेरो देश आएको, मेरो मातृभूमि आएको, म जन्मेको घर आएको, तर म ७/८ महिना पनि टिक्न सकिन। भएका सबै बारी खेत सबै बेचेर उ नाठो सँग हिडिछ, हुँदा हुँदा आउनु एक महिना अगाडीको तलब पनि बाँकी राखिन्, कस्ती…. रहिछ ।
धन्न यो घर चाहिँ मेरै नाउमा पुर्जा बनेको रहेछ, र जोगियो । कमरमा बाँधेको इनमका गाठाहरुले आज सम्म बाँचेको छु, अब बाँकी ले फेरि मुग्लान जाने छु। मेरो दुःखको कर्म, आफै लाई धिकार्दै उ घरलाई फर्केर नहेरी बेंसीको बाटो लाग्छ । हिँड्दा हिँड्दै मनमनै कुरो खेलाउँछ, यसपाली अलि बढी नै इमान्दार भएर काम गर्छु, ५/६ वर्षमा फर्किन्छु । पारिको के छ खबर कुन्नी, आजकल यो कोरोना भन्ने काम भयो कि के हो । हिजो बेलुकी सम्म गाउँ घर सबै रमाइलै थियो, न मास्क, न कोरोना, न डर, आफ्नो गाउँ भनेको आफ्नै गाउँ हो, उ गाउँले भएको गर्व गर्दछ। फेरि सम्झिन्छ, पारीको समाचार के होला, कस्तो अवस्था छ ।
ल अब जे होस, छोरो हिड्यो, ५/६ वर्षको लागि । सबै लुटिएपछि बुद्धि आयो मेरो पनि । पोहोर परारैै आउन खोजेको हो नी, कस्तो गल्ती गरिएछ । ह्याहा के पछुताउनु, छोरो हुँ म, फेरि एकपटक कमाउँछु नी । के गर्नु कर्म नी मेरो “सानैमा बा आमा बिते, त्यही श्रीमतीका बाउले हुर्काएका र उनैले विदेश पठाएका हुन” । खै बाउ, छोरीको मिलो मतो पो हो कि, हर्क मान शंका गर्छ। बन्दाबन्दि अझै हटेको छैन र आज सहर जाने सबै बस गइसके,भोलि मात्रै जान्छ त्यो पनि बिहानै, पाँच बजे ।
बेसिकी कान्छीले उसलाई भनी। ४/५ घण्टाको पैदल यात्रामा आइपुग्ने बेसी फेरि फर्केन गाउँ जान मन गर्दैन । हुनत उता बेसी बाट सहर पनि ४/५ घण्टै को यात्रा हो। जे होस् आज यतै बस्छु भोलि बिहान सहर जान्छु, अनि उतै बाट पारी जानु पर्ला । “ए कान्छी आज को रात यही काट्नु पर्ला है” उ आत्तिएर कान्छीलाई भन्छ।
आज त सपै भरिएको छ, बीचमा गुन्द्री खाली छ, हुन्छ त हर्क दाई । कान्छीको कुरोले आफ्नै खपर लागि दोष दिन्छ, के गर्नु नाजवाफ हर्क मान, ल ल कान्छी अब एक गिलास लेउ न त, खाउ के गर्नु, त्यही मान्द्रोको त भो जिन्दगी। नसा चड्दै जान्छ त्यसै बीचम गाउँकै मुखिया पनि टुप्लुक्क आइपुग्छ । ए हर्क के छ, नफर्किने आज? मुखियाको प्रश्नले हर्क मानको ध्यान भंग हुन्छ ।
नजाने मुखिया बा अब म त लाहुर हिँडेको, भोलि बिहानै सहर जाने हो । त्यतिनै बेला रेडियोको मधुरो गीतको धुन बन्द हुँदै “यो रेडियो नेपाल हो, रेडियो नेपाल बाट समाचार सुन्नुहोस, पारी कोरोना संसारकै अधिक भएका कारण निषेधाज्ञा जारी गरेको छ भने, कामका सिलसिलामा भएका नेपाली अलपत्र परेका छन् । अलपत्र परेका नेपाली हरूले नेपाल आउन र उद्धार गरिदिन हुन पनि सम्बन्धित निकायलाई भनेका छन् ।
यता भने नेपाल सरकार आपतमा परेका नेपालीहरुलाई उद्धार गर्न नसकिने र जो नेपाल आउँछ आफ्नै खर्चमा आइ नेपाल को होटलमा १४ दिन बस्नु पर्ने सूचना जारी गरेको…।
समाचार आफ्नै गतिमा बज्दै थियो, यता हर्क मान स्तब्ध हुन्छ, पारी जाने की, सबै रित्तिएको घर जाने। मुखियाले भने ल त हर्क मान राम्ररी जानु, मेरो आशीर्वाद छ, मुखिकाको आशीर्वादको कुनै जवाफ दिन नै सक्दैन ऊ। रात नै त्यही कान्छीले दिएको मान्द्रो ट्सुक्क बसेर नै बित्यो। हर्क मान बिहानै हतारमा यात्रा तय गर्छ। ४/५ घण्टाको यात्रा पनि यसपाली वर्षौंको यात्रा जस्तै महसूस गर्छ, कहिले नटुंगिने, कहिले नसकिने, लामो यात्रा।