ठुला बा : नारायण तिम्सिना (कथा)
कपन अनलाइन
काठमाडौं ,मंसिर २०।
ठुला बा ! ठुला बा ! उसले मलाई नै बोलाइरहेको हो भन्ने कुरामा कुनै शंका नै थिएन तापनि अब फेरि उसको कुन चैं डिमाण्डको सामना गर्नुपर्ने हो भनेर उसलाई बिल्कुलै वास्तै नगरी म आफ्नै काममा ब्यस्त हुन चाहेँ । ठुला बा! अझै चर्को स्वरमा कानै खानेगरी ऊ झनै चिच्यायो । अब भने मुख नखोली रहन गार्हो भो । हजुर, हजुर ! उतिर नहेरी हेलै भावले उसरी नै जवाफफर्काएँ मैले नि । सुसुन्नु त, कोक्रोचको ब्लड ह्वाइट हुन्छ, हो ? सँधैको जस्तो कुनै डिमाण्ड त होइन रहेछ त ।
अलि ढुक्क भएर प्रतिक्रिया दिएँ, हो । घरमा उसले थुपै पटक साङ्लाको सामना गर्नु परेको ले होला आज उसले साङ्लोलाई बिषयवस्तु बनाएछ भन्ने ठानेर सहजै उत्तर दिएँ । तर ऊ यत्ती मै रोकिएनअझै थप्यो, ठुला बा ! हाम्रो ब्लड त रेड हुन्छ त । अनि कसरी कोक्रोचको चैं ह्वाइट भयो त ? ख्यालख्याल मै केटोले अब भने फसाद पार्यो । साङ्लोको रगत सेतो हुन्छ भन्ने चैं थाहा थियो तर कसरी भन्ने कुराको चैं मैले नि हेक्का नै राखेको रहेनछु । बडो सम्हालिएर आफूमा जति ज्ञान थियो त्यसकै भरपुर उपयोग गरेर उत्तर दिने प्रयत्न गरेर भने, कोक्रोचको ब्लडमा रेड ब्लड सेल हुँदैन ह्वाइट ब्लड सेल मात्र हुन्छ । त्यसैले सेतो हुन्छ ।
चाइल्ड साइकोलोजीमा पढेको कुरा अहिले झ्वाट्ट सम्झिएँ (सकेसम्म बच्चाले सोधेको प्रश्नको सहीउत्तर दिनु । नसके उत्तर नै नदिनु तर गलतउत्तर कहिल्यै नदिनु । यो कुरा ख्याल गरेरै उत्तर दिएको थिएँ । तर पनि आफैंलाई लाग्यो कि कतै गल्ती भै हाल्यो भने त बच्चाले यहि कुरा सिक्छ । यो उसको सिक्ने बेलाहो । धेरै कुरा प्रतिको धारणा निर्माणको समयहो र यो समयमा सिकेको कुराको असर जीवन पर्यन्त रहि रहनपनि सक्छ । त्यसै त्यसै खटपट पो भो । यसैले हत्तपत्त छेवैको मोबाइल फोन तानेर ईन्टरनेट सर्च गरें (ह्वाइ इज ब्लड अफ कोक्रोच ह्वाइट ? मैले दिएको उत्तर सहि नै रहेछ, बल्ल मन शान्त भो ।
यतिबेर सम्म उसले के के सोधी सकेको थियो पत्तै पाइनछु । ऊ मलाई हातै हालेर कोट्ट्याउँदै रहेछ । हत्तपत्त हजुर बाबु, हजुर ! भनेँ । यता मलाई भने आफ्नै कामको तनाव थियो । आ, यो केटोले कति डिस्टर्ब गरेको होला । झनक्क रिस उठ्यो तर फेरि त्यही बाल मनोबिज्ञान सम्झिएँ बालबालिका सँग कहिल्यै रिसाउनु हुन्न । झर्कोफर्को गर्नु हुन्न । असहज र अमर्यादित व्यबहार गर्नु हुँदैन । आफू जे जसरी उनीहरू समक्ष प्रस्तुत भयो उनीहरूले पनि त्यही नै सिक्दछन् र त्यसै गर्दछन् ।
रिसाउन भएन, रिसाउन सकिन । ठुला बा! सुन्नु न ! सुन्नु त ऊ निरन्तर मलाई कोट्याइ नै रहेको छ । लाग्छ ऊ ठुलै मिसनमा छ, मिसन पूरा नगरी छोड्नेवाला छैन। अब के गरूँ, हप्किदप्की गर्न नि भएन । यो अबोध प्राणीलाई मेरो परिस्थिति र मनोदशा के थाहा । ऊ त निर्दोषपनले आफ्ना मनमा जागेका जिज्ञासा र कौतुहलताहरू मेटाउन पो लालायित छ त । भनिन्छ नि बालबालिकाले राखेका जिज्ञासा सौहार्दपूर्ण रूपले पूरा गरीदिनु पर्दछ । गाली गरेर वा झन्झट मानेर पन्छिन खोज्नु हुँदैन ।
अभिभावकहरूले उनीहरू प्रती बेवास्ता गरेको वापर्याप्त ध्यान नदिएको भान भयो भने अर्थात् उनीहरूलाई अनावश्यक दमन गर्यो भने उनीहरूमा खिन्नता र डर पैदा हुन्छ र आफ्ना मनोभावनाहरू सहजै प्रकट गर्न रूचाउँदैनन् । यसले सिकाइमा बाधा पुग्दछ । अनि उनीहरूको स्वभाविक गतिमा विकास पनिहुन सक्दैन । लर्निङ साइकोलोजीका यि दृष्टान्तहरूले मलाई चिसो पानी खन्याए जस्तो छ्याङ्गभो । आफ्नो सबै काम छोडेर अब भने म विस्तारै ऊ तर्फ फर्किएँ, उसलाई पूरा पूरा ख्याल गर्न ।
ठुला बा ! ठुला बा, अघि नै भनेँ नि ऊ आफ्नो मिसनमा अडिग छ । उसले फेरि आफ्नो जिज्ञासा राख्यो यो कपाल कसरी आउँछ ?अनि नङ काट्दा दुख्दै न त । किन नदुखेको?नङमा ब्लड हुँदैन हो, ठुला बा ? ओहो ! यो केबल छ वर्षको भुरोले कति कुरा जानेको । अब त यसले मलाई जानिजानी अप्ठ्यारो पारे जस्तो पो छ त । ऊ प्रायोजित वा नियोजित हो कि भन्नू भने जसरी मलाई यी सब प्रश्नहरू
सोध्दै छ ।
अब कसरी यो सब पार लगाउनु ? ए हेइ, पर जा ! नकरा याँ म सँग कति दिमाग खाएको मेरो । म पनि त याँ काम गर्दैछु नि देख्दैनस् । यसो भनौं कि क्याहो एकमनले सोचेँ पनि । फेरि अर्को मनले सम्झिएँ कि आफ्नो रिस शान्त पारेर आफूलाई सुविधाजनक अबस्थामा पुर्याउनत यसो भन्नू नि ठिकै थियो तर यसबाट बच्चाको कलिलो मनोविज्ञानमा पर्ने नकारात्मक असर त्यो बच्चाले नबुझे पनि म त बुझ्न सक्छु नि । त्यै भएर त म आफूलाई अविवेकी पशु नभएर बुद्धिमान मान्छे भएकोमा गर्व गरिरहेको छु । आफूलाई सम्हालेँ, सम्झाएँ । कहिलेकाहीँ यसरी आफूले आफैँलाई बुझाउँदा नि बेग्लै आनन्द आउँदो रहेछ ।
मैले उसको चुनौती स्विकारेर त्यसको सामना गर्नु बाहेक म सँग अर्को बिकल्पै छैन किनकी म उसको अभिभावक (शिक्षक) । उसले मलाई चाहे जती प्रश्न सोध्ने अधिकार छ । चाहे जति सताउने हक छ । बरू कि त मैले आफैँ सही उत्तर दिनु पर्यो कि सहीउत्तर प्राप्तहुने उपयुक्त श्रोत व्यवस्थापन गरी उसको जिज्ञासा मेटाउनु पर्यो । अहिले तत्काल म यो दुबै सर्त पूरा गर्न असमर्थ छु । ऊ उत्तरको प्रतीक्षा गरीरहेको छ म भने बडो ठूलो गोल चक्करमा छु । उत्तर दिउँ प्रष्ट थाहा छैन ।
गलत उत्तर दिनभएन ।उत्तर नै नदिउँ, उसको सिकाइ प्रतिको स्वभाविक उत्सुकता नै मर्ने डर पनि छ । विकासात्मक मनोबिज्ञान र सिकाइ मनोबिज्ञान पढेको याद आयो यतिबेला (अभिभावक एवम् शिक्षकले बालबालिकालाई सिकाईको लागि उपयुक्त वातावरण निर्माण गरेर हौसला प्रदान गर्नु पर्दछ । दमनात्मक तरिकाले भन्दा सहभागितामूलक ढंगले वातावरणसँग अन्तर्कृया गर्ने पर्याप्त अवसर सिर्जना गर्न सक्नुपर्दछ।
कुनै पनि व्यक्तिको जतिधेरै वातावरणसँग अन्तर्कृया गर्ने अवसर एवम् क्षमता छ त्यति नै धेरै उसको जान्ने हुने अर्थात् मानसिक तथा बौद्धिक विकासको सम्भावना रहन्छ । कुरा सहीहो तर अभिभावक वा शिक्षकको क्षमताको नि त प्रश्न आउला नि । आफूले आफैंलाई प्रश्न गरेँ ।
ठुला बा ! भन्नू न ।किनहो ? जिज्ञासुभावले बडो ब्यग्रतापूर्वक ऊ मलाई नियालिरहेको छ उत्तरको
अपेक्षामा । म प्रयत्नरत छु उसको म प्रतिको आशा, भरोसा र आस्था टिकाइराख्न । अनि बल्ल बुझ्दै छु छोराछोरीहरूको व्यक्तित्व निर्माणका लागि बाबुआमा अर्थात् अभिभावकको शिक्षाको महत्व । तुलनागर्दै छु जैविक बाबुआमा र सामाजिक आमाबाबुको बीचको भिन्नता । हो अनि केलाउँदै छु असल अभिभावक (शिक्षक) को भूमिका ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक