आमा हरायौ कता ? त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,मंसिर २०
जैल्यै स्वच्छ प्रगाढ भाव मनकी खानी उज्याली बनी
भर्ने उच्च हिमाल देखि तलका चौडा तराई पनि
हाँसो दिव्य फुलाउँने घरघरै भर्ने सधैँ शिष्टता
हुन्थ्यौ यै घरमा सधैँ चहकिली, आमा हरायौ कता?
आमागद्गद भै हरेक घरका नानीहरू ढुक्क थे
गर्छन् काम मिली युवायुवति यैँ बस्दा सँगै मख्ख थे
बन्थिन् रम्य भनेर नित्यजननी मीठो छ पीठो यता
हाँसो सन्ततिमा रहेन किनहो, आमा हरायौ कता?
छौँ सारा परिवार कुण्ठित यहाँ छैनन् कुनै योजना
हेर्छन् पिल्पिल आज भाइबहिनी टोलाउँदै झन्झन
के गर्ने असरल्ल छन् सब कुरा पाऊन्न मेलो मता
बेफिक्री घरबार चल्दछ कि के, आमा हरायौ कता?
लड्छन् आपसमा कचिङ्गल गरी हान्छन् झिकी बन्दुक
राखेथ्यौ कि लुकाउँदै धनकतै फोडी सके सन्दुक
भोकै छन् कति, मोजमा कति सधैँ, अन्योलमा छन् पिता
प्यासी छौँ दिल चुम्न त्यो सुरसिलो, आमा हरायौ कता?
जेठो भन्दछ भो सबै हकममा मैले भनेकै ठिक
उफ्फ्री झट्पट माइलो म पनिता जान्ने छु है भन्दछ
कान्छो के कम भन्छ झट्पट उठी, अन्याय भो है यता
कैल्यै मेलमिलाप छैन घरमा, आमा हरायौ कता?
जैल्यै चल्दछ ङार्र ङुर्र कसले खेती कमाई गरोस्
बा कुद्दा रिन काड्न बन्धक बने भण्डार कस्ले भरोस्
बारी खेत उजाड दैनिक जसो खै पेट भर्ने तथा?
साह्रै चिल्बिल भैसक्यो विह्वल छौँ आमा हरायौ कता?
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक