राष्ट्रिय अन्तरिक्ष नीति तयार गर्ने गृहकार्य

राष्ट्रिय अन्तरिक्ष नीति तयार गर्ने गृहकार्य

काठमाडौँ, २ असार । नेपालमा राष्ट्रिय अन्तरिक्ष नीति तयार गर्ने तयारी सुरु भएको छ ।

images (1)

विश्वका अधिकांश राष्ट्रमा अन्तरिक्ष नीति तयार भए पनि नेपालमा हालसम्म नीति बन्न नसकेका कारण बिपी कोइराला मेमोरियल प्लानेटोरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति एवम् विज्ञान तथा प्रविधि अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले त्यसको तयारी स्वरुप अन्तर्राष्ट्रिय कार्यशाला संयुक्त रुपमा आयोजना गरेका छन् ।

आगामी असार ७ गतेसम्म चल्ने कार्यशालामा अन्तरिक्ष विज्ञान क्षेत्रमा क्रियाशील डा विनित अर्याल, डा नारायण चापागाईं, डा रामप्रसाद रेग्मीलगायतका विज्ञबाट विभिन्न ३६ वटा कार्यपत्र प्रस्तुत गरिने बिपी कोइराला मेमोरियल प्लानेटोरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक डा शोभाकान्त लामिछानेले जानकारी गराउनुभयो ।

उहाँका अनुसार कार्यशालापश्चात् राष्ट्रिय अन्तरिक्ष नीतिका लागि प्रतिवेदन तयार गरिनेछ ।

प्रतिवेदन तयार गर्न विज्ञान तथा प्रविधि अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालयका डिनको संयोजकत्वमा कार्यदल गठन गरिएको उहाँले बताउनुभयो ।

विश्वका धेरै राष्ट्रमा अन्तरिक्ष नीति तयार भई त्यससम्बन्धी कानुनसमेत बनेका अवस्थामा नेपालमा नीतिका लागि गृहकार्य सुरु हुनुलाई अत्यन्त महत्वका साथ हेरिएको छ ।

नीतिका आधारमा राष्ट्रिय कानुन बन्ने र त्यसले अन्तरिक्ष क्षेत्रको विकासका लागि मार्ग प्रशस्त गर्ने लामिछानेको भनाइ छ ।

खगोल भौतिक विज्ञान सम्बन्धमा यसअघि तीनदिने राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरिएको थियो ।

कार्यकारी निर्देशक लामिछानेका अनुसार गोष्ठीमा विभिन्न विज्ञहरुका २० वटा कार्यपत्र प्रस्तुत गरिएको र गोष्ठीमा उठेका कुरासमेतलाई समेट्दै भौतिक विज्ञान तथा अन्तरिक्ष विज्ञान राष्ट्रिय पत्र तयार गरिने भएको छ ।

तपाइँको प्रतिक्रिया ।