जोरधारामा माघ १७ गते नयाँ नेतृत्व आउने, अधिवेशनको तयारी अन्तिम चरणमा

जोरधारामा माघ १७ गते नयाँ नेतृत्व आउने, अधिवेशनको तयारी अन्तिम चरणमा

कपन अनलाइन\माघ ८, २०७१
कपन तथा आसपासकै सबैभन्दा ठूलो सामाजिक संस्था कपन जोरधारा खानेपानी संस्थामा  माघ १७ गते नयाँ नेतृत्व चयनका लागि अधिवेशन हुने भएको छ । संस्थाको यस चौथो अधिवेशनले लामो समयदेखि यस संस्थाको नेतृत्वमा रहि रहेका व्यक्तिहरुलाई बिदाई दिने अनुमान गरिएको छ । करिब १००० घरमा खानेपानीको व्यवस्था गर्दै आएको जोरधारा खानेपानी संस्था विगत लामो समयदेखि विवादमा रहेको छ । कार्यकारी समितिले बिना टेण्डर ३० औं लाख खर्च गरेर बनाएको पर्खाल गत वर्षामा ढलेपछि जोराधारा समिति चरम विवादमा रहेको छ । यसबाहेक आर्थिक रुपमा बिभिन्न अपारदर्शिताका विषयमा जोरधारा खानेपानी संस्था बेलाबेलामा विवादमा परिरहने गरेको हो ।

ओस्कार स्कूलमा अधिवेशन

आगामी तीन वर्षका लागि हुन लागेको जोरधारा खानेपानी संस्थाको माघ १७ गते हुने नयाँ नेतृत्व चयन कार्यक्रम वडा नं. १४ को ओस्कार स्कलर्स एकेडेमीमा हुने भएको छ । करिब २०० मतदाता प्वाइन्ट प्रतिनिधि हुने बन्द सत्रले आगामी तीनवर्षका लागि नयाँ कार्यसमिति तथा कार्य योजना प्रस्तुत गर्नेछन् । कार्यक्रम ओस्कार स्कूलमा माघ १७ गते शनिवार बिहान १० बजे हुने जनाइएको छ ।

विश्वनाथ दहालको नेतृत्वमा निर्वाचन समिति

जोरधारा खानेपानी संस्थाले नयाँ अधिवेशनका लागि संस्थाको स्थायी कानूनी अधिकृत विश्वनाथ दाहालले नेतृत्वमा निर्वाचन कमिटि बनेको छ । नेका, एमाले तथा एमाओवादीका एकएक जना प्रतिनिधि सहित बन्ने निर्वाचन कमिटिले सत्य र भव्य रुपमा अधिवेशन गर्ने संस्थाका तेस्रो उपाध्यक्ष मुरारी भण्डारीले बताए । कपन अनलाइनसँग अनौपचारिक कुरामा भण्डारीले निर्वाचन समितिले स्वस्च्छ र निष्पक्ष कार्य गर्न बताए । औपचारिक र बन्द गरी दुई सत्रमा हुने अधिवेशन तथा साधारणसभा भाग लिनका लागि जोरधारा खानेपानी संस्थाले सबै आफ्ना उपभोक्तालाई अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।