डनमाथि दमन

डनमाथि दमन

कपन अनलाइन, २७ असार, २०७३

आजभोलि प्रहरीको काम छैन कि क्या हो ? धमाधम डन समातिरहेको छ । यतिबेला प्रहरी पूरा फुर्सदमा छ जस्तो लाग्छ । त्यही भएर डन समाउने काम गरिरहेको छ । अहिले राजधानीमा डन त कतै देख्नै हुन्न । प्रहरीले समातिहाल्छ । प्रहरीले यसरी धमाधम डन समाउन सुरु गरेको देखेर मानिस चकित छन् । के भएको प्रहरीलाई ? प्रहरीमा चेन अफ कमाण्ड खुस्कियो कि क्या हो जसले गर्दा यो अनहोनी काम भइरहेको छ !

Don22
प्रहरीले डन समाउनु आश्चर्यलाग्दो कुरा त हो नै । त्योभन्दा पनि आश्चर्यलाग्दो त के भने प्रहरीले गएको दुई÷चार साताभित्र यति धेरै डन समाइसक्यो तर आजसम्म न कुनै नेताले विरोध गरेको छ न कुनै नेता मानवाधिकार आयोग गएको छ । डनमाथि प्रहरी दमन भएको भयै छ, तर कुनै पनि नेता चुँसम्म बोलेको छैन । न डन मारेकोमा सदनमा विरोध भयो, न कतैबाट छानबिन माग भयो । के भएछ नेतालाई ?
डनमाथि यतिबिघ्न दमन भइसक्दा पनि नेता नबोल्नुको कारण के होला ? यसको एउटै मात्र कारण हो, चुनाव नहुनु । देशमा चुनाव नभएको धेरै भइसक्यो । तुरुन्त हुनेवाला पनि छैन । अब चुनावै हुनेवाला छैन भने डनको के काम ? डनलाई काम लगाउने त चुनावको बेला हो । अब चुनावको कुनै ठेगानै छैन भने किन डन चाहियो ?वास्तवमा चुनाव नभएर सरकारलाई मात्र होइन, डनलाई पनि आपत भएको रहेछ ।

अबको राजनीति

देशमा नयाँ–नयाँ परिस्थिति उत्पन्न भइरहेको छ । यस्तो बेला राजनीतिक नेता त बैठक–सैठक बस्दैनन् । डनको एउटा विशेष बैठक भने बसेको रहेछ । एजेण्डा रहेछ (गुण्डागर्दी र अबको बाटो ।)
बैठक आरम्भ गर्दै एक पुराना डनले भने, ‘हेर केटा हो, देशमा नयाँ–नयाँ घटनाक्रम विकसित हुँदै छ । अब हामी गुण्डाले पनि केही नयाँ सोच्नुपर्ने अवस्था आएको छ । त्यही भएर तिमीहरूलाई बोलाएको । कुरा बुझ्या हो ?’
‘हो दाइ, अब हामीले केही नयाँ सोच्नै पर्छ । पुलिसले पनि अब हामीलाई नछाड्ने भइसक्यो । अवस्था खराब छ दाइ ।’ एउटा फुच्चे गुण्डाले भन्यो ।
‘हो, कुरा त्यही हो । अहिले पुलिस हाम्रो पछि लाग्या छ । यही बेला हाम्रालागि नयाँ अवसर पनि आएको छ,’ पुरानो डनले भन्यो ।
‘के अवसर दाइ ?’ सबै गुण्डाका कान ठाडा भए ।
‘हेर केटा हो । भर्खरै सरकारले एउटा नयाँ नियम निकालेको छ । शिक्षकले राजनीति गर्न पाइँदैन । कर्मचारीले राजनीति गर्न पाइँदैन । अब शिक्षक र कर्मचारीले राजनीति नगरेपछि यो देशमा राजनीति गर्छ कसले ? शिक्षक र कर्मचारीबाहेक अरू मानिस त विदेशै गइसके । अब बाँकी भएका हामी गुण्डा मात्रै हौँ । त्यसैले यो खाली ठाउँमा अब हामीले नै राजनीति गर्नुपर्छ । कुरा बुझ्या हो ?’
‘तर हामी गुण्डाले चाहिँ गर्न पाइन्छ त ?’ एउटा च्याँसे गुण्डाले प्रश्न ग¥यो ।
‘पाइन्छ । सरकारले शिक्षकले राजनीति गर्न पाइँदैन भन्ने नियम निकाल्यो, कर्मचारीले राजनीति गर्न पाइँदैन भन्ने नियम निकाल्यो तर गुण्डाले राजनीति गर्न पाइँदैन भन्ने नियम अहिलेसम्म निकालेको छैन । त्यसैले हामीले राजनीति गर्न पाइन्छ । डराउनुपर्दैन ।’
पुरानो गुण्डाको आश्वासन पाएर सबै गुण्डा प्रफुल्लित भए । बैठक सकियो ।वर्ष २२, अंक १८, २०७३ साल असार २२ गते बुधबाको  जनआस्था साप्ताहिकमा खबर छापिएको छ ।

तपाइँको प्रतिक्रिया ।