वैशाख १२ लाई सम्झँदै ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शन, बाँच्नेलाई रु एक लाखको बिमा

वैशाख १२ लाई सम्झँदै ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शन, बाँच्नेलाई रु एक लाखको बिमा

काठमाडौँ, १२ वैशाख । गत वर्ष आजकै दिन वैशाख १२ गते गएको भूकम्पलाई समेटेर बनाएको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’को आज प्रदर्शन गरिएको छ ।

gud-gift

वृत्तचित्र हेर्न आज बागबजारस्थित ‘सिटी म्याक्स् सिनेमाज्’, चलचित्र घरमा सूचना तथा सञ्चारमन्त्री शेरधन राई लगायत भूकम्पमा बाँच्ने र बचाउनेको सहभागिता थियो । ‘गोरखा भूकम्प’मा बाँच्ने र बचाउनेको कथा समेटेर बनाइएको वृत्तचित्रलाई पत्रकार गणेश पाण्डेले निर्देशन गर्नुभएको हो । नेपाली र अङ्ग्रेजी दुबै भाषामा निर्मित वृत्तचित्र करिब ५५ मिनेट लामो छ ।

हालसम्म संसारका धेरै देशमा प्रदर्शन भइसकेको वृत्तचित्रले छ अन्तर्राष्ट्रिय पुरस्कार पाइसकेको तथा करिब ३२ चलचित्र महोत्सवमा मनोनयनमा परिसकेको छ ।
सो अवसरमा मन्त्री राईले एउटा वृत्तचित्रले सिङ्गो राष्ट्रको प्रतिनिधित्व गर्न सकेको बताउँदै भूकम्पमा परेर ज्यान बचाएकालाई राज्यले सकेको सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । भूकम्पपछि पुनःनिर्माण नै सरकारको पहिलो प्राथमिकता भएको बताउँदै उहाँले भन्नुभयो, “भूकम्पपीडितलाई राहत दिने कुरामा सरकारले अब बिलम्ब गर्दैन, आउँदो वर्षात्सम्ममा कसैले पनि बासस्थानको अभावमा खुल्ला आकाशमा बस्नुपर्ने छैन, सामूहिक भए पनि सरकारले घर निर्माण गर्छ ।”

कार्यक्रममा भूकम्पमा परेर ज्यान बचाएका बालक सोनिस अवाल, ऋषि खनाल, प्रिया विश्वकर्मा र रमेश खत्रीलाई नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले रु एक लाखको जीवन बिमा प्रदान गर्नुभयो । चारमध्ये दुई जनाको बिमा सहयोग वृत्तचित्र टोलीले उपलब्ध गराएको होे ।

त्यस्तै उद्धारकर्ता सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक लक्ष्मण बस्नेत, नेपाली सेनाका सुवेदार दीपक राई र सैनिक जवान विकास केसीलाई मन्त्री राई, सेनाका प्रवक्ता ताराबहादुर कार्की र सशस्त्रका प्रवक्ता शैलेन्द्र खनाल लगायतले सम्मान गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।