काठमाडौं महानगरपालिका वडा नं २५ मा ज्याथा पञ्चदान गुठी प्रजापति खल भवन शिलान्यास
कपन अनलाइन
काठमाडौं ,मंसिर ११।
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले आज ज्याथा पञ्चदान गुठी प्रजापति खल भवन निर्माणको शिलान्यास गरेका छन । काठमाडौं महानगरपालिका वडा नं २५ ज्याथा द्योलुवीमा खलले आयोजना गरेको कार्यक्रममा मेयर शाक्यले सो भवनको शिलान्यास गरेका हुन। कि. नं. १९२७, १९५३, १९५४ को १५३.०१ बर्ग मिटर र कि. नं. ७३४ को १५.९० वर्गमिटर क्षेत्रमा सो भवन निर्माण हुनेछ ।
यसमा निर्माण हुने भवनको नक्सा दस्तुर मिनाहा गर्ने प्रस्तावमा छलफल गर्दै असोज १८ गते बसेको कार्यपालिका बैठकले ३ लाख १५ हजार ८०५ रुपैयाँ दस्तुर मिनाहा गर्ने निर्णय गरेको थियो ।
शिलान्यासपछि कार्यक्रममा बोल्दै मेयर शाक्यले, मूर्त अमूर्त कुनै पनि सांस्कृतिक सम्पदाको पुननिर्माण, मर्मत सम्भारका लागि खर्चको अभाव नहुने र प्रक्रियामा ढिलासुस्ती नहुने बताएका थिए।
कहिलेकाहीँ गुठीयार र अंशियारकावीचको विवादले आगमछेँ, क्वापाछेँजस्ता सांस्कृतिक संरचना पुननिर्माणमा ढिलो भएको भन्दै मेयर शाक्यले म सबैको सहमति र साझा लक्ष्यका साथ योजना स्वीकृत गरेका छौं । हाम्रो गतिमा स्थानीयको गति मिल्ने हो भने परिणाम ल्याउने समय नलाग्ने धारणा राखेका थिए।
त्यस्तै वडा नं २५ का वडाध्यक्ष नीजकाजी शाक्यले वडाबासीको चाहना नै महानगरको लक्ष्य रहेकोले प्रचलित व्यवस्थाका आधार मानेर स्थानीय विकास अपेक्षा पूरा गरिने बताएका थिए।
साढे ४ तले भवन निर्माणको कुल लागत करीव ४ करोड रुपैयाँ हो । त्यसमध्ये पहिलो चरणमा महानगरले उपलब्ध गराउने ७५ लाख रुपैयाँ र उपभोक्ताले श्रमदान वापत् व्यहार्ने १५ प्रतिशत बराबर खर्चमा निर्माण कार्य हुनेछ ।भवनमा देउता कोठा, धार्मिक र सामाजिक कार्यक्रम गरिने सभा कक्षहरु निर्माण हुनेछन् ।