स्वदेशी वुट र सुट प्रदर्शनी पौषमा हुने
कपन अनलाइन ,मङ्सिर -३ / छाला जुत्ता तथा वस्तु उत्पादक संघ नेपालले प्रत्येक वर्ष गर्दे आएको जुत्ता चप्पल तथा वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी यो वर्ष २०७१ पौष ९ गतेदेखि १५ गतेसम्म गर्ने भएको छ । यो प्रदर्शनी संघको एघारौ संस्करण समेत रहेको छ । प्रदर्शनीको अघिल्ला संस्करणहरु राष्ट्रिय सभागृहको चौरमा गर्दे आएकोमा यस वर्षदेखि भने भृकुटीमण्डप स्थीत प्रदर्शनीहलमा आयोजना गर्ने भएको छ ।
यो प्रदर्शनी यस वर्ष छालाजुत्ता तथा वस्तु उत्पादक संघ, नेपालको आयोजना र नेपाल कपडा तथा सिलाई व्यवसायी संघको सह आयोजनामा सञ्चालन हुन गईरहेको छ । स्वदेशी वुट र स्वदेशी सुटको एउटै छाना मुनी प्रदर्शन र विक्री हुने भएकोले यो प्रदर्शनीले उपभोक्ताहरुको विश्वास जित्न सफल हुने र अघिल्ला प्रदर्शनी भन्दा पृथक हुने विश्वास आयोजकले लिईएको छ । उक्त प्रदर्शनीमा आफ्ना उत्पादनहरुलाई प्रवद्र्धन गर्न चाहने स्वदेशी जुत्ता चप्पल तथा छालाजन्य वस्तु उत्पादन गर्ने उत्पादक एवं कपडा तथा सिलाई व्यवसायीहरुलाई सहभागी हुनका लागी संघले आव्हान समेत गरेको छ । साथै प्रदर्शनीमा सहभागी हुन इच्छुक कम्पनीहरुका लागी स्टल बुकिङ्ग समेत खुल्ला गरेको छ ।