नागमणिको आशमा एक करोड ८९ लाख ५० हजार डुब्यो

नागमणिको आशमा एक करोड ८९ लाख ५० हजार डुब्यो

कपन अनलाइन

बाँके,कार्तिक १९।

जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका–१७ दाङ निवासी माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यवसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने भनी ललाइफकाई प्रलोभनमा पारी एक करोड ८९ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा तिन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नौमुले गाउँपालिका–४ दैलेख निवासी धनबहादुर रोका, कुमाख गाउँपालिका–५ सल्यान निवासी कृष्ण शाह र शारदा नगरपालिका–९ सल्यान निवासी डिल्लीबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए। उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१ बाट उनीहरुलाई ४० लाख रुपैयाँसहित पक्राउ गरिएको हो। आइतबार पक्राउ गरिए पनि उनीहरुलाई मङ्गलबार पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरिएको हो ।

तपाइँको प्रतिक्रिया ।