शंखरापुरलाइ धार्मिक तथा पर्यटकीय गन्तब्यको रुपमा चिनाउन चहान्छौ : सुवर्ण श्रेष्ठ (नगर प्रमुख)
कपन अनलाइन
काठमाडौं, कार्तिक १९। शंखरापुर नगरपालिकाको आयोजनामा सोमबार राजनेता एवं विशिष्ठ व्यक्तित्वहरुको उद्यान पार्क निर्माण सम्बन्धमा स्थलगत अवलोकन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कात्तिके देखि जहरसिंह पौवा सम्मको करिब ५ हजार रोपनी क्षेत्रफलमा बन्ने उक्त पार्क निर्माणको बागमती प्रदेश सरकारबाट ८० लाख र केन्द्रीय सरकार बाट एक करोडको बजेट व्यवस्थाा गरिएको छ भने आगामी वर्षहरूमा थप बजेट व्यवस्था गरिने भएको छ । बिभिन्न काल खण्डमा परिवर्तनका लागि लडेका राजनेताहरू एवं विशिष्ठ ब्यक्तिहरूको सालिक सहित उद्यान पार्क बन्न लागेको हो ।
शंखरापुर नगरपालिका वडा नं ३ स्थित जहरसिंह पौवामा आयोजित उक्त कार्यक्रममा अध्यक्षता को आसन बाट शुभकामना मन्तब्य राख्दै शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले शंखरापुर नगरपालिकाका उचाईमा रहेका स्थानहरुलाई पर्यटकिय स्थलको रुपमा बिकास गर्दै लाने अबधारणा बनाएको बताए । घुमारचोकमा बुद्ध पार्क ,नाङ्लेभारेमा भृकुटी पार्क ,कात्तिकेमा भ्यु टावर, इताखेलमा नेपाल आमाको मन्दिर तथा बज्रयोगिनी र शालिनदीलाई धार्मिक पर्यटक स्थलको रुपमा बिकास गर्न लागेको उदाहरण दिदै प्रमुख श्रेष्ठले तिनै तहको सरकारको सहभागीता र समन्वयमा कार्यक्रम आयोजना गरेकोले आजको दिनलाई एतिहासिक दिनको रुपमा लिनु पर्ने बताए । शंखरापुर नगरपालिकाले कृषि र पर्यटनलाइ प्रथामिकतामा राखेको जानकारी दिदै स्थानीय क्षेत्रको कला र संस्कृतिको ऐतिहासिक महत्त्वलाई संरक्षण गर्नको लागि नगरपालिकाले बिभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराए।
शालिनदी, साँखु, मणिचूड, बज्रयोगिनी, इन्द्रायणी सलम्बुदेवी, विश्वम्भरा नारायणजस्ता धार्मिक क्षेत्रका कारण यहाँ वर्षेनी धार्मिक पर्यटकको रोजाईमा पर्दै आएको बताउदै कोरोनाको कारण अहिले कमि भए पनि कोरोना नियन्त्रण हुनासाथ फेरी पर्यटकको आगमनमा बृद्दी हुने बिश्वास ब्यक्त गरे । उनले ती क्षेत्रलाई थप विकास गरि प्राकृतिक पहाडी वन जङ्गल, मणिचुड, झुले देउराली, जहरसिंह पौवा र थाना भञ्ज्याङलाई पर्यटकीय र धार्मिक क्षेत्रका रूपमा विकसित गर्न शङ्खरापुर नगरपालिका लागि परेको जानकारी दिदै सो स्थानमा थप पर्यटकीय पूर्वाधार बिकास हुनेमा आफु बिश्वस्त रहेको बताए ।
उनले समग्र शंखरापुर नगरपालिकालाइ धार्मिक तथा पर्यटकीय गन्तब्यको रुपमा चिनाउन चाहेको जानकारी दिदै सोहि अनुसार पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर तिनै तहका सरकार संगको समन्वय सहभागितामा विकास निर्माणको कामहरु भईरहेको जानकारी गराए ।उनले राजनेता उद्यानको योजना सम्पन्न गर्न शंखरापुर नगरपालिकाले जस्तोसुकै पहलकदमी लिन तयार रहेको समेत बताए ।