सेनालाई थप काम सुम्पिने तयारी

कपन अनलाइन

काठमाडौं ,कार्तिक ५।
प्रधानमन्त्रीले नै रक्षा मन्त्रालय सम्हालेपछि पहिलो काम रह्यो, कोभिड संक्रमण व्यवस्थापनमा सेनाले प्रदर्शन गरेको कामको उच्च प्रशंसा । र, जंगी अड्डाले यसप्रकार आफ्नो पृतनापति सम्मेलन आइतबार थालेर हिजो सम्पन्न गरेको छ ।
प्रधानमन्त्री र सातैवटा पृतनापति भर्चुअलमा, प्रधानसेनापति, रक्षा सचिवसहित जंगी अड्डाका अन्य अधिकृत गरी २२ जनाको उपस्थितिबीच सम्पन्न उक्त सम्मेलनमा सेनालाई थप केही काम सुम्पिने घोषणा भएको छ । छाङ्रुसहित दार्चुला–टिंकर, संखुवासभा–ओलाङ्चुङ्गोलाका सडक निर्माणको सम्पूर्ण जिम्मेवारी नेपाली सेनालाई दिने योजना प्रधानमन्त्रीले उक्त भर्चुअल सम्मेलनमा सुनाउनुभयो । भन्नुभयो, ‘समयमै काम सक्नुस् ।’ फास्टट्रयाकतर्फ पनि अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त भई सबै काम स्वदेशी श्रममै अघि बढ्ने तय भएपछि बर्खा लाग्नुअगाडि नै सुरुङ र अग्ला पुलहरु बनाउन थाल्नुपर्नेछ ।
शान्तिकालमा त सरकारद्वारा हाल निर्धारित प्रादेशिक संरचना ठीकै होला तर एकदम जटिल परिस्थिति आइपर्दाखेरी मुकाबिला गर्ने कसरी ? सोही सोचअन्तर्गत सेनाले लडाइँको अवस्थाका निम्ति ३+१ अर्थात् कोशी, गण्डकी, कर्णाली बेसिन र उपत्यका कमाण्डको अवधारणा अघि बढाएको छ । यो भनेको ब्रिटिशले झैं खोलाको करिडोर समात्दै लड्ने विधि हो ।
त्यस्तै, ६ देश र एक मिसनमा खटिएका सैनिक सहचारी (कर्णेल) हरुको बदली शुरु भएको छ । पहिला भारत र चीनजस्ता छिमेकी मुलुकमा सहायक रथी (ब्रिगेडियर जर्नेल) खटाउने गरिन्थ्यो । तर, अबदेखि फेरि महासेनानी (फुलकर्णेल) दर्जाकै अफिसर पठाउन थालिएको छ । यताबाट जाँदा उनीहरु महासेनानी भए पनि मिसनमा रहँदैमा सहायक रथीको फुली लगाउन पाउने छन् । दिल्लीमा रहेका एकतारे ईश्वरकान्त मैनालीको म्याद माघमा सकिएपछि त्यहाँ महासेनानी रामचन्द्र खत्री जाने छन् । चीनमा रहेका जर्नेल विनोद पाण्डेलाई कर्णेल मोहन खत्रीले बदली गर्ने कुरा छ । अमेरिकाबाट मधुकर कार्की पनि डिसेम्बरमा फर्कने छन् । बेलायतमा रत्न गोदार जाँदैछन् । त्यस्तै, वासिङ्गटन डिसीमा भुवन सत्याल तोकिएका र न्युयोर्कमा जगदिश खड्का पुगिसकेका छन् ।
यीमध्ये सेनापतिसम्म बन्नसक्ने मधुकर सबैभन्दा भाग्यमानी अफिसर मानिन्छन् । ०५८ को दरबार हत्याकाण्डमा अधिराजकुमार निराजनको एडिसी रहेका उनी उक्त हत्याकाण्डका बेला दरबारबाहिर हुनाले कारवाहीबाट जोगिएका थिए । दरबार हत्याकाण्डताका एडिसीको जिम्मेवारीमा रहेका मधुकर र विनोज बस्न्यातमात्र हुन्, कारवाहीबाट जोगिएका । त्यसमध्ये विनोजको केही समयअघि पदावधि लागेर अवकास भइसकेको छ । उनी मुमाबडामहारानीको एडिसी थिए ।
शान्ति स्थापनार्थ कंगोमा खटिएको टोलीका केही अफिसरले तल्लो दर्जाका सेनामाथि गरेको दुव्र्यवहारबारे जंगी अड्डाले नै छिनोफानो गर्ने भएको छ । त्यहाँ हाल तैनाथ टोली कात्तिक अन्तिम साता स्वदेश फर्किंदैछ । टोली फर्कनासाथ केही क्याप्टेन मिलेर नवराज माझी नामक सिपाहीलाई हातपात गरेको विषयमा कारवाही शुरु हुने बताइन्छ ।समाचार साभार :जनआस्था साप्ताहिक

तपाइँको प्रतिक्रिया ।