ओखलढुंगा रमाइलोडाँडा–रुम्जाटार सडक योजनाका ठेकेदार संग रिसाए सांसद यज्ञराज सुनुवार
कपन अनलाइन
काठमाडौं ,असोज २८।
ओखलढुंगाको रमाइलोडाँडा–रुम्जाटार सडक खण्डमा अनुगमनका क्रममा प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार ठेकेदार संग रिसाएका छन । ठेक्का लागेको लामो समय पछी निर्माण शुरु गरिएको सो सडक बनाइनसक्दै सडक भत्किएको भनेर आलोचना सुरु भएपछी स्थलगत अनुगमनमा पुगेका सांसद सुनुवारले ठेकेदारलाई समयमै गुणस्तरीय काम नगरे कारवाही गर्ने चेतावनी दिएका थिए।
प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवार, प्रदेश १ का अर्थ समिति सभापति मोहन खड्का, सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल सहितको टोलीले अनुगमनका क्रममा गुणस्तरहिन काम भएको भन्ने स्थानीयको गुनासो समेत सुनेपछि मापदण्ड अनुसार काम नगरेमा ठेकेदार विरुद्ध कानुनी कारबाही अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिएको थियो।
जिल्लाको अर्को महत्वपूर्ण ओखलढुंगा -रामपुर सडक पनि ठेकेदारको लापरवाहीका कारण अलपत्र हुँदा आलोचना भैरहेको समयमा १८ महिनामै सक्नेगरी २०७४ सालमा थालिएको यो योजना विभिन्न बहानामा ठेकेदारले निर्माणमा ढिलाई गरेको हो।
एशियाली विकास बैंक र स्वीस सरकारको सहयोगमा २० करोड ६८ लाख लागतमा आपतकालीन भूकम्पीय सहयोग परियोजना अन्तर्गत यो सडक निर्माण भएको हो ।