गोकर्णेश्वरको लायन्स आइसोलेसन केन्द्र आज बाट संचालनमा
कपन अनलाइन
काठमाडौं, असोज २२। गोकर्णेश्वर नगरपालिका द्वारा उपलब्ध गराइएको राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वनको स्वामित्वमा रहेको भवन आइसोलेसन केन्द्रको रुपमा आज बाट संचालनमा आएको छ ।काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै संक्रमितको उपचारमा सहयोग पुगोस भनेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले गोकर्णेश्वर नगरपालिका संगको समन्वयमा उक्त भवनलाई आइसोलेसन केन्द्रको रुपमा संचालन गरेको हो ।
गोकर्णेश्वर नगरपालिका सँगको समन्वय तथा सुमेरू अस्पतालसँग सहकार्य गरेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले आइसोलेसन सेन्टर स्थापना गरेको र यसका लागि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागबाट स्विकृती प्राप्त गरे संगै बिहिबार बाट उक्त आइसोलेसन संचालनमा आएको हो ।लायन्स क्लब अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ए१ले ५० बेड (७० बेडसम्म पुर्याउन सकिने) उक्त आइसोलेसन केन्द्र मा आज ३ जना महिला र ३ जना पुरुष गरि कुल ६ जना कोभिड १९ संक्रमित रहेका छन ।
उक्त आइसोलेसन केन्द्र अति आवश्यक ब्यक्तिहरुको लागि बनाइएको हुँदा कोभिडका बिरामी जो कोठामा बहाल तिरेर बस्छन अरु बस्ने ठाउ नभएकाहरुको लागि मात्र भएको हुँदा सक्षम ब्यक्तिहरुको लागि सिफारिस नगर्न डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले अनुरोध गरेका छन ।आइसोलेसन सेन्टरमा चार छाक खाना तथा सामान्य औषधिको ब्यवस्था समेत लायन्स क्लबले आफैं गर्ने र यसको दैनिक औसत खर्च कम्तिमा रू १५,००० (पन्ध्र हजार) लाग्ने अनुमान गरिएको उनले बताए । उनले सो को लागि हरेक लायन्स क्लब, लायन सदस्य, गैर लायन व्यक्तिहरु, सामाजिक संस्था, व्यापारिक संघ संस्था तथा ब्यक्तिले कम्तिमा एक वा एक भन्दा बढि दिनको खर्च प्रायोजन गर्ने वा गराउने प्रयास गर्नेछन भन्ने बिस्वास लिएको भन्दै यस पुनित कार्यमा हात बढाउन सबैलाई उनले अनुरोध गरेका छन ।
सोहि अनुरुप अत्यावश्यक कोभिड का बिरामीहरुको पहिचान पश्चात सम्पूर्ण प्रक्रिया पुर्याई उक्त आइसोलेसनमा राखिएको आइसोलेसन सेन्टर कमिटिको प्रशासन उपसमिति संयोजक: माइ एल सी आइ एफ चिफ लायन रमेश लामाले बताए । उनका अनुसार हाललाई उक्त आइसोलेसन सेन्टरको सुरक्षाको जिम्मा गोकर्णेश्वर नगरपालिकाको नगर प्रहरी र महानगरीय प्रहरी प्रभाग गोकर्णले लिएको जानकारी गराउदै उक्त आइसोलेसन केन्द्रमा सुमेरु अस्पतालले स्वास्थ्यकर्मिको समेत व्यवस्थापन गरेको छ ।आइसोलेसन केन्द्र संचालनको लागि विभिन्न समिति तथा उपसमितिहरु समेत गठन गरिएको छ। गैर सरकारी संस्था बाट संचालन गरिएको उक्त आइसोलेसन केन्द्र सम्भवत नेपालको पहिलो आइसोलेसन केन्द्र हो ।
फोटो :सरोज बस्नेत