आफ्नै साथीले गरे साथीको हत्या (भिडियो सहित)
कपन अनलाइन
काठमाडौं ,असोज १९ ।
आफ्नै साथीले साथीको हत्या गरे भन्दा अचम्म लाग्न सक्छ । तपाईं आफ्नो मिल्ने साथीलाई आँखा चिम्लेर विश्वास गर्नुहुन्छ ? विश्वास गर्नुहुन्छ भने कुनै दिन गहिरिएर सोच्नुपर्ने परिस्थिति पनि आउन सक्छ । कहिलेकाही तपाईंको विश्वासिलो नजिकको साथीले तपाईंको ज्यान पनि लिन सक्छ । यस्तै विषयमा बनेको लघुचलचित्र “ट्रष्ट” सार्वजनिक भएको छ । लघुचलचित्रमा एकदमै मिल्ने दुई साथीहरूमाथिको विश्वास कसरी तोडिन्छ भन्ने कुरा उतार्न खोजिएको छ । कथा एउटा क्याफेबाट शुरु हुन्छ । दुवै जना चिया पिउँछन्, बाँडेर खाजा खान्छन् । बिल तिर्ने बेलामा दुवैले तिर्न खोज्छन् ।
एकजनाले बिल तिरेपछि दुवै कोठामा आउँछन् अनि शुरु हुन्छ विश्वासमाथिको प्रश्न । बिल तिर्ने बेलामा साथीको पर्समा भएको फोटोले घटनालाई नयाँ मोड थपिदिन्छ । एउटा बन्द कोठाभित्र दुई साथीहरुबिचको द्वन्द्वात्मक दृश्यले धेरैको मन जिरिङ्ग बनाईदिन्छ । घटनाको रहस्य अन्तीममा खुल्दै जान्छ, जसकारण कथावस्तु सरल रुपमा सजिलै बुझ्न कठिन हुन्छ ।
विनासंवाद पृष्ठभूमिमा संगित प्रयोग गरिएको यस लघुचलचित्रमा समाजमा हुन सक्ने घटनाको प्रतिनिधित्व गरेर घनिष्ठ साथीको विश्वासमाथि प्रश्न उठाईएको छ । करिब १३ मिनेट लामो लघुचलचित्र हेरिरहँदा आफ्नै साथीको विश्वासलाई एकपटक सोच्न बाध्य बनाउँछ । चलचित्रको निर्माण पक्ष फितलो हुँदाहुँदै पनि हेरिरहँदा कौतुहलता जगाइरहन्छ ।
समग्र रुपमा यसबाट दर्शकलाई सन्देश दिने भन्दा पनि सचेत तुल्याउन प्रेरित गरेको भेटिन्छ । सञ्चारकर्मी तथा रंगकर्मी मोहन अभिलाषीको लेखन तथा निर्देशनमा बनेको चलचित्रको छायांकन रामकृष्ण चौँलागाइँले गरेका हुन् । लघुचलचित्रमा मोहन अभिलाषी, मोहन श्रेष्ठ, मुकेश हमाल, प्रेम श्रेष्ठको लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो :