तरुनीको चक्करमा जिन्दगी पर्यो अक्करमा
कपन अनलाइन
काठमाडौं ,असोज १५।
महाकाली सिञ्चाई आयोजना,कञ्चनपुरका निमित्त प्रमुख डिभिजनल इञ्जिनियर प्रचण्डदेव बिष्ट सुन्धाराको एउटा होटलमा मध्यरात एकातिर एघार लाखको मुठो र अर्कोतिर दुइटी तरुनीसँगै भेटिए,अहिले अख्तियारको हिरासतमा छन् तर म्याद थप्न अदालत लाँदा कत्ति पनि पश्चातापमा देखिएनन् ।
गत शुक्रबार स्रोत नखुलेको त्यति धेरै रकम बोकी हिंडेको अभियोगमा थुनेरै छानवीननिम्ति म्याद थप्ने प्रयोजनको लागि विशेष अदालत लगेको बेला त्यस्तो संवेदनशील विषयमा पनि उनी गम्भीर नदेखिएपछि सबै छक्क परेका हुन् ।
म्याद थप्नुअघि न्यायाधीशले ‘साथमा रहेको ११ लाखचाहिँ के हो नि ?’ भनेर सोधेका थिए । जवाफमा उनले ‘सापटी रकम तिर्न कञ्चनपुरबाटै ल्याएको’ भनिदिए ।
अहिलेको जमानामा,त्यो पनि पढे–लेखेको मान्छेले एटीएम कार्ड,बैंक ट्रान्सर्फर,इ–बैंकिङ्गको सुविधा र सुरक्षालाई छाडेर एघार लाखको बिटो बोकी त्यति लामो बाटो पार गर्नु नै रहस्यमय हो । कञ्चनपुरबाट आएकै दिन नगदसहित सुन्धारामा दुइटी तरुनीसँग नारिँदै बिष्टले मनाएको जन्मदिन फेसबुक बमोजिमको हो वा साँच्चिकै तिथिअनुसारको हो त्यो पनि खुलेको छैन ।
प्रायः सबैले आफ्नो जन्मदिन घरमा वा बाहिर भए नजिकका परिवार र आफन्तसँग बसेर मनाउँछन् । तर,कोरोना महामारीवीच त्यो पनि मध्यरात लजमा दुईजना तरुनीलाई दुईतिर राखेर बसेको अवस्थामा फेला परेपछि अख्तियारका प्रहरीलाई उनले ‘बर्थ डे सेलिब्रेशन’ मनाएको बताएका थिए ।
उनले अदालतमा पनि हलुका ढङ्गले ‘बर्थ डे सेलिब्रेशन’ कै अड्डी लिए । त्यसपछि न्यायाधीशहरू कृष्ण गिरी,शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले रङ्गिला इञ्जिनियरलाई १५ दिन हिरासतमा राख्न पाउने गरी म्याद थपिदिएको छ ।
हाकिमलाई सुदूर पश्चिमबाट हान्निएर आई झोलाभरी नोट र काखमा तरुनी राखेर कोरोना सङ्क्रमणको महामारीमा पनि लज पुग्नुपर्ने कस्तो बाध्यता आइपरेको होला ? यो घटनाले यतिबेलाको सुशासनको दृश्यलाई पनि उदाङ्गो बनाइदिएको छ । पक्राउ परेका दुबै युवतीलाई प्रहरीले कागज गराएर छाडेको छ ।समाचार साभार : जनआस्था साप्ताहिक